एसइईमा उत्कृष्ट विद्यार्थीलाइ वडा अध्यक्ष कुशवाहाले गरे सम्मान

मधेस ब्युरो । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ । रौतहटको कटहरिया नगरपालिकाभरीमा सञ्चालित सामुदायिक विद्यालय मध्येबाट एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाइ सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

सो नगरपालिकाको वडा–४ का वडा अध्यक्ष चन्दन कुशवाहाले एक कार्यक्रमका बीच ३.६० जिपिएभन्दा माथि ल्याउने विद्यार्थीलाई सम्मान गरेका थिए ।

सम्मान तथा पुरस्कार पाउनेमा ४ जना छात्र र १ जना छात्रा रहेका छन् । कटहरिया नगरपालिका भरिको सामुदायिक विद्यालय मध्येबाट उत्कृष्ट अंक ल्याउने अनिरुद्ध यादव, धर्मेन्द्र यादव, मधु शाह, बादशाह कुशवाहा र सन्ध्याकुुमारी कुशवाहा रहेका छन् ।

उनीहरूलाई वडा अध्यक्ष कुशवाहाले स्कुल ब्याग, कलम र डायरी उपलब्ध गराई खादा लगाएर सम्मान गरिएको छ । विद्यार्थीको मनोबल उच्च बनाउने अभिप्रायले यस वर्षदेखि वडा अध्यक्ष कुशवाहाले एसइईमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गर्ने थालनी गरेका छन् ।
कार्यक्रममा वडा अध्यक्ष कुशवाहाले विद्यार्थीले प्राप्त गरेका सफलता परिवार, आफन्त, समाज, जिल्ला र राष्ट्रको नै भएको भन्दै भोलिको पुस्ताको असल नेतृत्व गर्न सक्ने बन्न सक्नुपर्ने तर्क गरे ।

उनले विद्यार्थीलाई प्रदान गरिएको स्कुल ब्याग मात्र नभई समाजको भरोसा, बुबाआमाको आशा, गुरुहरूको मिहिनेत र परिश्रमको फल रहेकोले यो उपलब्धीलाई निरन्तरता दिन आग्रह गर्दै उज्ज्वल भविष्यको कामना गरे ।
यस वर्ष रौतहट जिल्लाबाट ३.६० देखि ४ जिपिए ल्याउनेको संख्या ६५८ रहेको जिल्ला शिक्षा समन्वय इकाइ रौतहटका प्रमुख रामविनय कुमार सिंहले जानकारी दिए ।

प्रतिक्रिया