जनकपुरधाम । नेपालमा क्षमताअनुसार अझै पनि पर्यटक भ्रमणमा आउन नसकेकोप्रति होटल व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् ।
होटेल एसोसिएसन अफ नेपालका अध्यक्ष विनायक शाहले नेपाल होटल व्यवसायीसँग रहेको क्षमता अनुरूप पनि पर्यटक भ्रमणमा नआउनु दुःखद् विषय रहेको बताए । होटल एसोसिएसन अफ नेपाल मधेसले होटेलमा काम गर्ने जनशक्तिका लागि आयोजना गरिएको फ्रन्ट डेस्क तालिमको समापन समारोहमा उनले पर्यटक नेपाल भ्रमणमा आउँदा नटिक्नु चिन्ताको विषय रहेको बताए ।
‘नेपालमा ३५ लाख पर्यटकहरूलाई प्रत्येक वर्ष सत्कार गर्ने क्षमता छ’, उनले भने, ‘तर पछिल्लो वर्ष मात्र १० लाख पर्यटक नेपाल आए ।’ अब जनकपुरधाम आउने पर्यटकहरूलाई कसरी १–२ दिन टिकाइराख्ने विषयमा ध्यान केन्द्रित गर्नु आवश्यक रहेको बताए ।
कार्यक्रममा उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय मधेसका सचिव राजीव पोखरेलले मधेस घुम्न आउने दोस्रो मुलुकका नागरिकले भोग्नुपर्ने समस्या समाधान गर्न मन्त्रालय तयार रहेको प्रतिवद्धता व्यक्त गरे । उनले नेपाल–भारत सीमामा पर्यटकले भोग्नुपर्ने समस्या, ट्राफिक प्रहरीले दिने पीडा, पैसा खर्च लगायतको समस्यालाई थप सहज बनाउने विषयमा गहन छलफल चलिरहेको उनले जानकारी दिए ।
होटेल क्षेत्रमा काम गर्ने जनशक्तिलाई सीप स्तरोन्नतिका लागि होटेल एसोसिएसन अफ नेपाल मधेसले आयोजना गरेको तालिममा ५० भन्दा बढी युवायुवतीहरूको सहभागिता रहेको थियो ।
होटेल एसोसिएसन अफ नेपाल मधेसका अध्यक्ष विजय झुझुनबलाको अध्यक्षतामा भएको समापन समारोहमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, नेपाल च्याम्बर अफ कमर्स मधेसका अध्यक्ष अमरनाथ गुप्ता, नेपाल पर्यटन तथा होटेल व्यवसायी महासंघ मधेसका उपाध्यक्ष सुरेन्द्र भण्डारी लगायतले बोलेका थिए ।
प्रतिक्रिया