काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा ललितपुर महानगरको बेरुजु ० दशमलव ४ प्रतिशतमा सीमित रहेको छ । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा महानगरले असार २४ गतेसम्म चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा कुल खर्च ८३.६२ प्रतिशत रहेको जानकारी दिएको छ । त्यस्तै, पुँजीगत खर्च ८१ दशमलव ३ प्रतिशत र राजस्व संकलन ९८ दशमलव ५ प्रतिशत रहेको महानगरपालिकाले जनाएको छ ।
महानगर प्रमुख चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट विनियोजन गरिएको जानकारी दिए । यो गत वर्षको तुलनामा १५ प्रतिशतले बढी हो । यसमध्ये पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख २३ हजार र प्रशासनिक खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार रुपैयाँ छ ।
प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले महानगरले सम्पदा क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमणमा शून्य सहनशीलता अपनाउँदै सार्वजनिक जग्गाको लगत संकलन गरेको जानकारी दिइन् । सीमांकन र संरक्षणका लागि समिति गठन तथा बजेट व्यवस्था गरिएको श्रेष्ठको भनाइ छ । त्यस्तै महानगरले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन एवं पार्क निर्माणलाई प्राथमिकता राखेको छ ।
यता, सप्तपाताल पोखरी, पलेस्वा पुखुलगायत आयोजनाहरू द्रुतगतिले प्रगति भइरहेको तथा चक्रपथ धोबीघाटमा अपांगतामैत्री आकासे पुल (साइकल र्याम्पसहितको) निर्माण भइरहेको महानगरको भनाइ छ । नख्खु खोलामा निर्माण भइरहेका ३ वटा पुलमध्ये एउटा पुलको निर्माण सम्पन्न भइसकेको छ । हरिसिद्धि र धापाखेलका बासिन्दालाई आवतजावतमा सहजताका लागि कर्मनाशा नदीमा पुल निर्माण गरिने तथा अपांगतामैत्री फुटपाथ, ट्रान्सपरेन्ट ग्रिन फेन्स, स्मार्ट स्ट्रिट लाइट, हाई मास्ट र सिसिटिभी जडानलाई निरन्तरता दिने महानगरले जनाएको छ ।
प्रतिक्रिया