उपप्रमुखले च्यातिन् नगरसभाको ब्यानर

नगरप्रमुखले एकलौटी गरेको भन्दै बहुमत सदस्यद्वारा नगरसभा बहिष्कार

रौतहट । जिल्लाको बौधिमाई नगरपालिकाको नगरसभा बिथोलिएको छ । नगरप्रमुख प्रदीप यादवले एकलौटी गर्न खोजेको भन्दै बहुमत सदस्यले नगरसभा बहिष्कार गरेका छन् ।

नगरसभा हुन नदिन कार्यालय प्रमुख सन्देश यादवको ठूलो भूमिका रहेको बताइएको छ । जुन नगरपालिकामा भए पनि कार्यपालिकामा भाँडभैलो मच्चाउने गरेका कार्यालय प्रमुख यादवले नगरसभा सदस्यलाई मिलाउन नसकेको कारण नगरप्रमुख यादव नगरसभामै एक्लिएका थिए ।

नगरसभाका ४९ सदस्यहरूमध्ये ३३ जनाले बहिष्कार गरेका छन् । वडा–३ का वडाध्यक्ष मणिभूषण साहले नगरप्रमुख यादवले नगरसभा गर्नुपुर्वका कुनै काम नगरेको र सबै काम एकलौटी गर्न खोजेको आरोप लगाएका छन् । आफूहरूले नगरसभा वैधानिक किसिमले सम्पन्न गर्नका लागि ३२ जना नगरसभा सदस्यको हस्ताक्षर गरी बुझाएको भए पनि कुनै वास्ता नगरेको कारण बाध्य भएर बहिष्कार गर्नुपरेको बताएका छन् ।

बौधिमाई नगरपालिकाका नगर उपप्रमुख प्रमिलादेवी जयसवालले नगरसभा पूर्ण रूपमा अवैधानिक किसिमले सम्पन्न गराउन खोजेको भन्दै आक्रोशित हुँदै ब्यानरसमेत च्यातेकी छन् । नगरसभामा बहुमत सदस्य नरहेको अवस्थामा बलजफ्ती नगरसभा गरेको आरोप लगाउँदै बाध्य भएर हस्तक्षेप गर्नु परेको बताएकी छन् ।

बोधिमाई नगरपालिकाका ९ वडाध्यक्षमध्ये ५ वडाध्यक्षले बहिष्कार गरेका छन् । विधि र प्रक्रियापूर्वक नगरसभा नगरिए आफूहरूले निरन्तर प्रतिकार गर्ने वडा–९ का अध्यक्ष मुक्तिनारायण मिश्रले बताएका छन् ।

कडा सुरक्षा व्यवस्था गरिएको नगरसभा स्थलमा पत्रकारहरूलाई पनि प्रवेशमा निषेध गरिएको थियो । नगरसभा बिथोलिएको विषयमा नगरप्रमुख यादवसित सम्पर्क गर्न खोज्दा नगर प्रहरीले आदेश नभएको भन्दै नगरप्रमुखसित भेट गर्न दिएन । नगरप्रमुख यादवको मोबाइल भने स्विच अफ थियो ।

नगरसभाबाट बाहिरिएपछि उपप्रमुख जयसवाल, वडाध्यक्ष र नगरसभा सदस्यहरूले नगरप्रमुखविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

राजपुरको नगरसभा : बिरामी र विद्यार्थीसँग मेयर कार्यक्रमलाई निरन्तरता

रौतहटको राजपुर नगरपालिकाले बजेट ल्याएको छ । सोमबार राजपुर नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएको छ । राजपुरस्थित नगरपालिकाको सभाहलमा बजेट अधिवेशन बोलाइएको थियो । नगरप्रमुख डा.मो.राजिक आलमको अध्यक्षतामा सो नगरसभा सम्पन्न भएको हो ।
नगरसभाको आठौँ नगरसभाबाट जनमुखी नीति र कार्यक्रम ल्याएको छ । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको नीति तथा कार्यक्रम कार्यान्यवन गर्न ५५ करोडभन्दा बढी बजेट विनियोजन गरेको हो ।

हरेक वर्ष असार १० गते बजेट ल्याउनुपर्ने प्रावधान रहेको छ । त्यसै अनुरूप नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । धेरै उत्साहका साथ सम्पन्न भएको नगरसभाबाट राजपुर नगरपालिकाको जनताको मन जितने किसिमको नीति तथा कार्यक्रम पारित गरेको हो । नगरप्रमुख आलमले नीति तथा कार्यक्रम वाचन गरेर सुनाएका थिए ।

नगरको चौतर्फी विकासका लागि यसै आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ५५ करोड ६० लाख ५३ हजार रुपैयाँको बजेट पारित गरिएको नगरप्रमुख आलमले जानकारी गराए । यस वर्ष ‘बिरामीसँग मेयर, कार्यक्रम लागू गरिएको छ भने ‘विद्यार्थीसँग मेयर’ कार्यक्रमलाई निरन्तरता दिइएको छ । साथै स्वास्थ्य स्वयंसेविकाहरूको ५०० का दरले सेवासुविधा थप गर्ने बजेटमा समावेश गरिएको छ ।

त्यस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, भौतिक पूर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगायतको विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको आलमले बताए ।

सो अवसरमा जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी, कर्मचारीसहितका व्यक्तिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया