काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालित अस्पतालहरुलाई १५ दिनभित्र अनिवार्य रुपमा आफ्नै फार्मेसी (औषधि पसल) सञ्चालन गर्न निर्देशन दिएको छ ।
महानगरपालिकाको स्वास्थ्य विभागले बुधबार एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित अस्पतालहरुलाई अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको हो ।
हाल महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरुको आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन नगरेका महानगरपालिकाले जनाएकाे छ ।
अस्पतालहरुले अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको ठहर महानगरपालिकाले गरेकाे छ ।
‘अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधि र औषधिजन्य सामग्रीहरु बिक्री भइरहेको गुनासो प्राप्त भएको छ,’ काठमाडौँ महानगरपालिकाको सूचनामा भनिएको छ, ‘अस्पतालहरुले अनिवार्य रुपमा आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ ।’
महानगरले २०७४ सालमा सर्वोच्च अदालतले अस्पतालहरुलाई आफ्नो स्वामित्वमा अनिवार्यरुपमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने भनेर गरेको आदेशको पनि स्मरण गराएको छ ।
‘सर्वोच्चको आदेश र तोकिएको मापदण्ड बमोजिम महानगरवासीको स्वास्थ्य सेवा सरल र सुलभ रुपमा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित सबै अस्पतालले १५ दिनभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्नको लागि यो सार्वजनिक सूचनामार्फत् सूचित गरिन्छ,’ काठमाडौँ महानगरपालिकाको सूचनामा भनिएको छ ।
प्रतिक्रिया