काठमाडौँ । आरोही राजेश लामा काठमाडौँबाट पैदलै हिँडेर सगरमाथा शिखरसम्म पुगेका छन् । काठमाडौँबाट हिँडेको ५७औँ दिनमा उनी सगरमाथा शिखरमा पुगेका थिए ।
गत अप्रिल १ तारिखका दिन काठमाडौँबाट पैदल यात्रा सुरु गरेका उनले ४३२ दशमलव ६ किलोमिटर दुरीको यात्रासँगै सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आरोहण अनुभव सुनाएका हुन् । लामाले दृढ संकल्प र साहसिक मनोभावका कारण यात्रा सम्भव भएको बताए । इच्छा शक्ति, धैर्यता र अठोट भए जीवनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्छ भन्ने उदाहरण काठमाडौँबाट सगरमाथा शिखरसम्मको यात्रा भएको उनले उल्लेख गरे । आगामी दिनमा नेपालको साहसिक गतिविधिमा सक्रिय हुने उनको भनाइ छ ।
काठमाडौँको सानेपाबाट सगरमाथा यात्रा सुरु गरेका ललितपुर निवासी लामा १५ दिनमा लुक्ला र २४ दिनमा सगरमाथा आधार शिविर पुगेका थिए । मे २० तारिखका दिन उनले सगरमाथा आरोहण गरेका हुन् । पर्यटन क्षेत्रमा दशकभन्दा बढी अनुभव भएका लामा पर्वतारोहण व्यावसायिक पथ प्रदर्शक हुन् । ‘द नर्थफेस’ नेपालले लामालाई सगरमाथा आरोहणमा आवश्यक सहयोग गरेको थियो ।
कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी एवं नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले लामाको सगरमाथा यात्रा नेपालको पर्वतीय पर्यटनका लागि नयाँ आयाम भएको उल्लेख गरे । अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक दावा याङजुम शेर्पाले लामाको साहसिक कार्य पर्वतारोहणका लागि प्रेरणा भएको धारणा राखे । द नर्थफेस नेपालकी प्रबन्ध निर्देशक पेमा शान्ति शेर्पाले आरोहीको हौसलामा साथ सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।
प्रतिक्रिया