एनआरएनको पहलमा मिनी रंगशाला

हेटौंडा, १६ फागुन । लामो समय विदेशमै बस्दै आएका एक युवाको अगुवाइमा हेटौंडा–७ नागस्वतीमा रहेको नवज्योति विद्यालयको खेल मैदानमा मिनी रंगशाला निमार्ण हुने भएको छ । विगत १४ वर्षदेखि बेल्जियममा रहँदै आएका हेटौंडा–७ का सहदेव गौतमको अगुवाइमा मिनी रंगशाला निमार्णको तयारीमा स्थानीय युवा समुदाय क्रियाशील भएका छन् ।

एनआरएन बेल्जियमका संयोजकसमेत रहेका रंगशाला निमार्ण समितिका संयोजक गौतमले डेढ वर्षभित्र मिनी रगंशाला तयार गर्ने बताएका छन् । हेटौंडा नगरपालिकाले विद्यालय हातामा रहेको खेल मैदान व्यवस्थापन गर्नका लागि दिएको तीन लाख रुपियाँमा थप गर्दै एक करोड बढीको लागतमा व्यवस्थित मिनी रंगशाला निर्माण हुने विद्यालय प्रांगणमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
एक सय मिटर लम्वाइ र ७० मिटर चौडाई रहने गरी प्याराफिट र खेलाडीका लागि ड्रेस चेन्ज रुम निर्माण गरिनेछ । करिब डेढ बिगाह क्षेत्रफलमा करिब पाँच हजार दर्शक अट्ने रंगशालाको निर्माण गरिनेछ । यसको तयारी स्वरूप फागुन २६ गते हेटौंडामा बृहत् सांस्कृतिक कार्यक्रम गरिने भएको छ । कार्यक्रममा देशका सर्वोत्कृष्ठ संगीतकार, ख्यातिप्राप्त गायक/गायिकाको सहभागिता रहनेछ । मैदानमा रंगशाला निमार्णका लागि आर्थिक संकलन स्वरूप सांस्कृतिक कार्यक्रम गर्न लागिएको संयोजक गौतमले बताए ।
रंगशाला निमार्णका लागि मुख्य लगानी एनआरएन बेल्जियमले गर्ने बताइएको छ । रंगशाला निमार्णका क्रममा नवज्योति माविको केही अंश निर्माण भएको भवनमा पनि क्षति पुग्ने बताइएको छ । पक्की भवनको करिब दुईकोठा भत्किनेछ । उनको अगुवाइमा विद्यालयको आर्थिक उपार्जनका लागि व्यावसायिक भवनको निर्माण गरिसकिएको छ ।

प्रतिक्रिया