मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा पाइने बहुमूल्य यार्सागुम्बा टिप्न गएका ३ जनाको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा मुगुको छायाँनाथ रारा नगरपालिका–१२ कम्फा गाउँका २१ वर्षीय सोबन बुढा तथा राजन सावत र सोही नगरपालिका शोभा गाउँका २९ वर्षीय मुनबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
तीनै जनाको यार्सा संकलनको ठुलो कोइकी वन क्षेत्रमा लेक लागेर सिकिस्त बिरामी परेका र सुरक्षाकर्मी र अन्य स्थानीय यार्सा संकलकहरूले उद्धार गरी तल मुगु गाउँतर्फ ल्याउँदै गर्दा बाटामै ज्यान उनले प्रहरीले जनाएको छ । यो बर्ष मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न जाँदा मृत्यु हुनेको सख्या ४ पुगेको छ ।
यसअघि गत वैशाख २७ गते लेक लागेर अस्पताल ल्याउदै गर्दा जुम्ला पातारासी गाउँपालिका ३ का २६ वर्षीय सुर्जबहादुर रावतको लेक लागेरै मृत्यु भएको थियो । यार्सा टिप्न जाँदा हाई अल्टिच्युडका कारण लेक लागेर बिरामी हुने र तत्कालै उद्धार तथा औषधि उपचार नहुँदा वर्षेनी यार्सा पाटन क्षेत्रमा यर्सा संकलकहरूले ज्यान गुमाउँदै आएका छन् । गत वर्ष मात्र यार्सा टिप्न मुगुका पाटनहरूमा पुगेका ३ जनाको हिउँ पहिरोमा परेर मृत्यु भएको थियो ।
६९ लाख रूपैयाँ राजस्व संकलन
मुगु जिल्लाको पुर्वी करानभेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकामा यो पटक यार्सागुम्बा संकलकबाट ६९ लाख ५२ हजार ५ सय राजस्व संकलन भएको छ । अझै पनि संकलकहरु आउने क्रम रहेकाले राजस्व संकलनको क्रम निरन्तर छ । गत वर्ष यार्सा संकलकबाट करिब ४६ लाख राजस्व संकलन भएको र यो पटक ६९ लाख ५२ हजार ५ सय रूपैयाँ राजस्व जम्मा भइसकेको मुगुम कार्मारोङ गाउँपालिकाका आन्तरिक लेखा परीक्षक महेशबहादुर मल्लले जानकारी दिए ।
यार्सा टिप्न पाटन जाने जिल्ला बाहिरकालाई प्रति ब्यक्ति २ हजार ५ सय र जिल्ला भित्रकालाई प्रतिव्यक्ति २ हजारका दरले प्रवेश शुल्क उठाइएको छ । यो पटक यार्साबाट करिव ७० लाख राजस्व संकलन हुन सक्ने अनुमान गरिएको छ । पाटनमा यार्सा टिप्न धेरै मानिस पाटन गइसकेको र केही फाँटफुट मानिस जाने क्रम जारी रहेको र उनीहरुबाट प्रवेश शुल्क उठाउने गरिएको मुगुम कार्मारोङ गाउँपालकाले जनाएको छ ।
कोराना महामारीका कारण ४ वर्षसम्म यार्साबाट राजस्व उठ्न सकेको थिएन । गत वर्ष भने ४६ लाख रूपैयाँ राजस्व उठेको थियो । मुगुम कार्मारोङ गाउँपालिका वडा नं २ का सानोकोइकी, ठुलोकोइकी, रिमार, टाँके, हाङदाङखोला ,छापाखोला,च्यार्खु लगायत १२ वटा स्थानमा यार्सा प्रशस्त पाइन्छ । यस पटक करिब साढे ४ हजार मानिस यार्सा टिप्न मुगुका पाटन पुगेका छन् ।
मुगु
प्रतिक्रिया