सहकारी विभाग मर्जर अभियानमा

sahakari-bibhag-2काठमाडौं, १६ फागुन । बैंक तथा वित्तीय संस्थामा मर्जरको होड चलिरहेका बेला सहकारीलाई पनि मर्जरमा लैजान सहकारी विभाग लागिपरेको छ । देशभरि करिब २७ हजार सहकारी स्थापना भएपछि सरकारले सहकारी व्यवस्थित एवं सुदृढ बनाउन मर्जर (एकआपसमा गाभिने) लाई अभियानका रूपमा लैजाने भएको हो । यसका लागि सहकारी विभागले मर्जर कार्यविधि पनि तयार गरिसकेको छ । कार्यविधि कार्यान्वयनमा ल्याउने तयारीमा सहकारी विभाग लागेको छ ।

सहकारी प्रजातान्त्रिक संस्था भएकाले संस्था दर्ता गर्न नमिल्ने भएकाले सहकारी खुल्ने क्रम बढेको सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले बताए । नयाँ दर्ता गर्नुभन्दा भएका सहकारीलाई सबै पक्षबाट सबल बनाएर सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । ‘केही सहकारीले मर्जरमा जान इच्छा देखाउँदै छन्,’ उनले भने, ‘कार्यविधिमार्फत मर्जर अभियान सञ्चालन गर्न लागेका हौँ ।’ मर्जरमा गएपछि आºनो पद जाने भएकाले पनि केही सहकारी मर्जरमा जान अटेर गरेको सहकारी विभागले जनाएको छ । चालु आर्थिक वर्ष करिब ७० सहकारी मर्ज भइसकेका छन् । सानो कारोबार गरिरहेका सहकारी आपसमा मिलेर ठूलो संस्था भई काम गर्दा प्रभावकारी हुने न्यौपानेको भनाइ छ । ठूला सहकारी संस्थाले घरजग्गा कारोबारमा अधिक पुँजी परिचालन गरेकाले ती संस्थामा वित्तीय समस्या बढ्ने जोखिमलाई समेत दृष्टिगत गरी विभागले कार्यविधि जारी गर्न लागेको हो ।
कार्यविधिमा मर्जरलाई प्रोत्साहन गर्न निश्चित अवधिसम्म कर छुट दिन लागेको सहकारी विभागले जनाएको छ । मर्जरलाई व्यवस्थित गर्न कर छुटको प्रस्ताव समावेश गरिएको छ । सहकारी विभागले जारी गरेको सहकारी संघसंस्था दर्ता, सञ्चालन, लेखा परीक्षण, अनुगमन तथा नियमनसम्बन्धी मापदण्ड, ०६८ मा मर्जमा जानका लागि प्रावधान खुकुलो बनाइएको भए पनि खासै मर्जर हुन सकेको छैन । सहकारीको संख्यात्मक वृद्धिसँगै गुणात्मक विकासका साथै सहकारीको पुँजीगत संरचना बलियो बनाउन सहकारीबीच मर्जर अभियान आवश्यक रहेको सहकारी विभागले जनाएको छ ।
विषयगत सहकारीभन्दा पनि वित्तीय कारोबार गर्ने सहरकेन्द्रित सहकारी मर्जरको आवश्यकता रहेको न्यौपानेले बताए । मुलुकभर २६ हजार ६ सय ६० प्रारम्भिक सहकारी, २४० जिल्ला सहकारी संघ, १६ वटा विषयगत केन्द्रीय संघ र एक राष्ट्रिय सहकारी संघ र राष्ट्रिय सहकारी बैंक सञ्चालित छन् । विभागका अनुसार ११ हजारभन्दा बढी सहकारी सहरी क्षेत्रमा मात्र केन्द्रित छन् । सहकारीको संख्या काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै सात हजारभन्दा बढी छ । वित्तीय कारोबार गर्ने सहकारी (बचत तथा ऋण र बहुउद्देश्यीय) १५ हजारभन्दा बढी छ । सहकारीले एक खर्ब ५० अर्ब निक्षेप संकलन गरी एक खर्ब ४१ अर्ब रुपियाँ कर्जा प्रवाह गरेको पछिल्लो तथ्यांक छ ।

प्रतिक्रिया