गर्मीले तराईको जनजीवन अस्तव्यस्त, विद्यालयहरू अनिश्चितकालका लागि बन्द

सर्लाही । सर्लाहीसहित तराईका जिल्लाहरुमा अत्यधिक गर्मि बढेको छ । बिहानैदेखि तातो हावासँगै बढेको गर्मिले जनजीवन अस्तव्यस्त बनेको छ । बालबालिका, बृद्धबृद्धा गर्मीबाट प्रताडीत भएका छन् । केहिदिन यता विद्यालयमा बालबालिकामा गर्मिले बेहोस हुने, छटपटाउने लगाएतका समस्याहरु देखिन थालेका छन् । श्री आधारभुत विद्यालय लालबन्दी–१५ सतभैयाकी शिक्षिका बिन्दु रामदामका अनुसार गर्मीका कारण पठनपाठनमा धेरै समस्या परेको छ । अत्यधिक गर्मीका कारण विद्यार्थीहरु बेहोस हुने, छटपटाउने, बोल्न नसक्ने जस्ता समस्या देखा परेको उनको भनाई छ ।

यस बर्षको बर्खायाम सुरु हुनै लाग्दा पनि पानी पर्न परेको छैन । छिटफुट पानी पर्ने र लामो समय पानी नपर्दा जमिन तातेर बाफ आउने, त्यसमाथी तातो हावा चल्दा टिक्नै गाह्रो भएको हरिपुर–३ का ज्ञानेश्वर मण्डलले बताए ।

तातो हावा चलेको, गर्मी अत्यधिक बढेको र मौसम पूर्वानुमान महाशाखाले आगामि तीन दिन तातो हावाको लहर चल्न सक्ने र सतर्कता अपनाउन गरेको आग्रह बमोजिम सर्लाहीका–२ पालिकाले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।

लालबन्दी नगरपालिकाले अर्को सुचना जारी नहुँदासम्मको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उसले १७ गते बिहिवारदेखि विद्यालय बन्दको घोषणा गरेको हो । त्यसैगरी बरहथवा नगरपालिकाले पनि १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्दको घोषणा गरेको छ ।

नगरप्रमुख कल्पना कुमारी कटुवालद्वारा हस्ताक्षरित सूचनामा अत्यधिक गर्मीका कारण दैनिक जिवन अत्यधिक कष्टकर हुँदै गइरहेको अवस्थामा पठन पाठन गराउन समस्या रहेको र वातावरणविद्का अनुसार आइतबारसम्म वातावरण प्रतिकुल भएको हुँदा बिद्यालय बन्द गराउने निर्णय गरिएको उल्लेख छ । बर्षे बिदाबाट कट्टा हुनेगरी गर्मी बिदा प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

गर्मीका कारण जिल्लाका मुख्य बजारहरुमा समेत चहलपहल कम हुन थालेको छ । चर्को घाम र गर्मीका कारण लालबन्दी, हरिवन, बागमती, बरहथवा, मलंगवा, बयलवास, हरिपुर, गोडैता लगाएतका बजारमा ग्राहक तथा बिक्रेताको आवतजावत पातलिएको स्थानीय ब्यापारिहरु बताउँछन् ।

अत्यधिक गर्मी हुन थालेपछि बृद्धबृद्धा र बालबालीकामा समेत बिभिन्न खाले समस्या देखिन थालेको छ । गर्मी मौसममा धेरैजसो एलर्जीको समस्या देखिने चिकित्सकहरु बताउँछन् । साथै तापक्रम बढ्दै जाँदा भिन्न किसिमका सरुवा रोग, हेपाटाइटिस रोग, झाडापखाला जस्ता समस्या देखिन सक्छ । तापक्रम बढेसँगै लामखुट्टे पनि बढ्दै जान्छ र लामखुट्टेबाट सर्ने रोगहरु जस्तै डेंगु, हात्तीपाइले लगायतका रोगहरू पनि लाग्छ सक्छ । दूषित पानी तथा बासी सडेगलेका खाना खाँदा टाइफाइड, हेपाटाइटिस ‘ई’ र ‘ए’ झाडापखाला, हैजा र आउँ जस्ता रोग लाग्छन् । यो मौसममा झिंगा भन्केका, राम्रो सफाइ नभएको ठाउँका खानाले र आफ्नो पनि शरीर वरपरको वातावरणको राम्रो सफाइ नगर्दा यस्ता रोग सर्ने गरेको पाइन्छ ।

साथै यो मौसममा रुघा लाग्ने, खोकी लाग्ने, हाछ्यु लाग्ने, छालामा डाबरहरू बस्ने हुनसक्छ । यस्तो बेला सकेसम्म घरमा बनाएका ताजा खानेकुरा मात्रै खाने गर्नुपर्छ । बजारमा बाहिर राखेर बेचिने खानेकुरा, होटलका खानेकुराहरु खाँदा सचेत हुन चिकित्सकको आग्रह छ ।

उनीहरुले चर्को घाम लागेको समयमा सकेसम्म घरभित्रै बस्न, प्रशस्त पानी पिउन, शरीरलाई शित्तलता प्रदान गर्ने खानेकुरा खान, बाहिरी खानेकुरा सकभर नखान सुझाव दिएका छन् ।

प्रतिक्रिया