काठमाडौं । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती सोमबार थाइल्याण्ड प्रस्थान गरेका छन् ।
यही मे २३ देखि २६ सम्म थाइल्याण्डमा हुने पारालिम्पीकमा केशव थापा ह्वीलचियर क्याटोगोरीको क्लास ३ मा प्रतिस्पर्धाका लागि थाइल्याण्ड गएका हुन् । उक्त खेलमा विश्व बरियतामा रहेका खेलाडीहरुले मात्र प्रतिस्पर्धा गर्न पाउने र नेपालमा पारा टेबल टेनिसका खेलाडी केशव थापा एकमात्र विश्व बरियतामा हुन् । यस्तै प्रशिक्षक बसन्त भारती पनि उनीसँगै थाइल्याण्ड गएका छन् ।
पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टमा विश्वका धेरै देशका खेलाडीहरुले सहभागिता जनाउने सो खेलमा ह्वीलचियर ब्याइज क्लास ३ मा १५ देशका विश्व वरिएतामा रहेका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन । उक्त खेलमा विजेता हुने खेलाडी आगामी अगष्ट तथा सेप्टेम्बरमा फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने पारालिम्पीकमा सिधै छनोट हुने छन ।
खेलाडी तथा प्रशिक्षकलाई प्रतियोगितामा सहाभागी हुनका लागि ललितपुर बागडोलस्थित सुन्दर ढोका साथि सेवाअन्तर्गतको विकास शिल्डले हवाई टिकट तथा खेलका लागि आवश्यक सामाग्री तथा मेडिकल इन्सुरेन्सको लागि प्रायोजन गरेको छ । साथै गोकर्णेश्वर नगरपालिकाबाट ५० हजार आर्थिक सहयोगको प्रतिबद्धता भएको छ ।
नेशनल पारालिम्पिक कमिटीका कोषाध्यक्ष ओमनाथ सिवाकोटीले पनि खेलाडी तथा प्रशिक्षकलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । खेलमा सहभागी हुनका लागि आयोजकको नियम अनुसार प्रवेश शुल्क र आवास शुल्क बापत प्रतिव्यक्ति ९६० युरो आयोजकलाई भुक्तानी गर्नुपर्ने हुदाँ खेलाडी तथा प्रशिक्षकले जनही लगभग एक एक लाख स्वंय व्यक्तिगत रुपमा लगानी गर्नुपर्ने खेलाडी थापाले बताए ।
विकास शिल्डले हवाई टिकट तथा खेल सामाग्रीमा प्रायोजन नगरेको भए उक्त प्रतियोगितामा नेपालले सहभागिता जनाउने अवस्थानै नरहेको खेलाडी तथा प्रशिक्षकले बताए । राष्ट्रिय खेलकुद परिषद्मा जानकारी गराई पारालिम्पिक छनोट जस्तो खेलमा सहभागि हुनको लागि निवेदन दिदाँ पनि कुनै पनि निकायबाट सुनुवाई नभएको खेलाडी केशव थापाले बताए ।
अपांगता भएका खेलाडीहरुको प्रोत्साहनका लागि सरकारबाट आवश्यक सहयोग गर्न खेलकुदमा दीर्घकालीन योजनाको खाँचो रहेको छ । राष्ट्रको खेलकुद विकासका लागि उत्कृष्ट खेलाडीले अवसर खोज्ने होइन, राज्यले उत्कृष्ट खेलाडी खोज्ने परिपाटी बनाउन सकेमात्र खेलकुद क्षेत्रले गति लिने हुँदा सरकारको बेलैमा यसतर्फ ध्यान जान जरुरी छ ।
को हुन् खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती ?
केशव थापा नेपालमा आयोजना भएका ह्वीलचियर टेवल टेनिसमा राष्ट्रिय च्याम्पियन समेत भइसकेका खेलाडी हुन् ।
थापा पारा एसियन गेम २०१८ इन्डोनेशिया, पारा एसियन गेम २०२२ हान्जाउ चाइना लगायत, ताइवान, जापान, पोल्याण्ड, थाइल्याण्ड तथा बगंलादेशमा समेत देशको प्रतिनिधित्व गर्दै बगंलादेशमा गोल्ड मेडल समेत जित्न सफल नेपाली पारा टेबल टेनिसमा हाल विश्व बरियतामा रहन सफल एकमात्र पारा टेबल टेनिसका खेलाडी हुन् ।
१३ वर्षअघि मेरुदण्ड पक्षघात भई अपांगता भएका थापाको जन्म स्थान धवलागीरी गाउँपालिका– ७ धारापानी, म्याग्दी हो भने विगत १२ वर्षदेखि काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ८ मा बस्दै आइरहेका छन् ।
प्रशिक्षक बसन्त भारती चौथो पारा एसियन खेल हान्जाउ चाइनामा नेपाली टेबल टेनिसको प्रशिक्षकको जिम्मेवारी पूरा गरिसकेका प्रशिक्षक हुन् । प्रशिक्षक भारती पारा टेबल टेनिसका अन्तराष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक हुन् । उनी गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ का स्थायी बासिन्दा हुन् ।
प्रतिक्रिया