काठमाडौं : लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट, स्टुडेन्ट काउन्सिलले आयोजना गर्ने सातौँ एलए कपमा लनटेनिस र फुटबल खेल समावेश गरिने भएको छ । प्रतियोगिता ९ देखि १६ चैतसम्म हुनेछ । स्प्रिङ खुला टेनिसमा पुरुष/महिलाको सिंगल्स र डबल्स गरी चार स्पर्धामा प्रतिस्पर्धा हुनेछ । अनुमानित १ सय ५० खेलाडीले भाग लिने टेनिस प्रशिक्षक रामेश्वर थापाले जनाएका छन् । एकलको पुरुष विजेताले १० हजार र उपविजेताले ७ हजार ५ सय तथा महिलातर्फ १० हजार र उपविजेताले ५ हजार रुपियाँ नगद पुरस्कार पाउनेछन् । त्यस्तै, डबल्सको पुरुषमा पहिलो हुनेले १० हजार र दोस्रोले ५ हजार तथा महिलामा पहिलोले ८ हजार र दोस्रोले ४ हजार रुपियाँ नगद पुरस्कार जित्नेछन् । लिग कम नकआउट आधारमा हुने कलेजस्तरीय फुटबलमा १६ टिमको सहभागिता रहनेछ । विजेतालाई २५ हजार तथा उपविजेतालाई १० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिनेछ । (सौस)
प्रतिक्रिया