रौतहट जिल्लाको राजदेवी नगरपालिका–७ मुडवालबामा करिब ७ दशक पहिला स्थापना भएको गढिमाई मन्दिरको अस्तित्व संकटमा पर्दै गएको छ । स्थापनाकालमा देखिएको महिमा अहिले पनि कायम नै रहेको सो मन्दिरको भौतिक पूर्वाधारको विकासमा कसैको ध्यानाकर्षण नगएको हँुदा मन्दिरको अवस्था जीर्ण भएको हो ।
तत्कालीन गाउँ विकास समिति मुडवालबा–२ निवासी गुदर साह कलवारले गढिमाईको पुजारीको रूपमा पूजाआजा गर्दै मन्दिरको स्थापना गरेका थिए ।
गुदर साहको नाति कमल साह कलवारले आफ्नो बाजेले गढीदेवीको पूजा गर्नुका साथै झारफुकसमेत गर्ने गरेको बताए । ‘बाजेको पालामा जो सुकैले देवीको भाकल गरेर पूजा गर्दा मनोकामना पूरा हुन्थ्यो’, उनले भने, ‘त्यो बेला दर्शन गर्न आउने भक्तजनको भिड लाग्ने गथ्र्यो ।’
बाजेले आफ्नो जीवनकालसम्म गढिमाईको सेवा, पूजा आर्चना गर्नुभयो, बाजेको मृत्युपश्चात बुबा दरबेश साहले जीवनकालसम्म धामीझाँक्रीको काम गरेको उनले बताए ।
बाजेको पालामा गौर निवासी राम औतार गोयलले देवीको पूजा अर्चना गरी सन्तानको चाहना गरेको र सन्तान प्राप्त भएपछि मन्दिर निर्माण गरिदिने भाकल गरेको सुनाए । गोयलले आस्था विश्वासका साथ मागेको वरदान स्वरूप पहिलो सन्तानको रूपमा छोरा पाएपछि गढिमाईको मन्दिर निर्माण गराएको साहले बताए ।
गाउँकै एक जनाले दानमा दिएको १६ धुर जग्गामा सानो मन्दिर निर्माण भएपछि पूजाअर्चना निरन्तर सञ्चालन हँुदै आएकोमा २०५४ सालमा बुबा दरबेश साहको निधनपछि पुजारीविहीन बनेको मन्दिरमा गाउँकै धामीझाँक्रीको रूपमा काम गर्दै आएका महेन्द्र यादवले पूजा गर्न थाले ।
पहिलो स्थानीय निर्वाचनपछि महेन्द्र यादवको निधन भएपछि केही वर्ष गाउँकै बिजेश्वर यादवले पूजापाठ गर्दै आएका थिए अहिले मन्दिरको पूजा एक युवतीले गर्ने गरेका छन् ।
असोज महिनामा नवरात्रको नवमीका दिन गाउँका व्यक्तिले पूजा, बलि दिने गरेका छन् । स्थानीय राम अयोध्या साहले पहिला १० गाउँका मानिस पूजा बलि दिन आउने गरेको बताए । ७० वर्षीय साहले गढिमाई मन्दिरमा प्रत्येक वर्ष दसैँको बेला १०० भन्दा बढी राँगा, खसी, बोका बलि दिइने गरेको सुनाए । अहिले बलि दिने संख्यामा कमी आएको उल्लेख गर्दै पुजारी विहीनता र प्रचारप्रसारमा कमी आएको कारण यस्तो अवस्था आएको बताए ।
पहिला शिक्षा र प्रविधिको विकास नभएको बेला धार्मिक कार्यमा बढी ध्यान दिने गरेको थिए । हँुदै गएको शिक्षा प्रविधि विज्ञानको विकासले धर्म कर्म प्रतिको आस्थामा ह्रास आएको कथन रहेको छ ।
नेपालमा विभिन्न कालखण्डमा शासन सत्ता परिवर्तन भए पनि अहिले हराउँदै गएको परम्परा, सांस्कृतिक, कला संरक्षणप्रति कसैको ध्यान गएका छैन ।
पुरानो इतिहास बोकेका र महिमा रहेको गढिमाई मन्दिरको पूर्वाधार विकास गर्नुपर्ने जोड स्थानीयहरूको रहेको छ । मन्दिरमा कम्पाउन्ड वाल नरहेका कारण भौतिक रूपमा क्षति हँुदै आएको छ । पूजापाठ गर्नका लागि खानेपानीको व्यवस्थासमेत गरिएको छैन, खानेपानीको सुविधा नभएकोले अन्य ठाउँबाट जल लिएर जानुपर्ने बाध्यता रहेको स्थानीय अबधेशप्रसाद यादवले बताए ।
गढिमाईको महिमा धेरै नै रहेको र यस क्षेत्रको विकासमा स्थानीय सरकारले लगानी नगर्दा ओझेलमा परेको उनले बताए । ७० वर्षअघि स्थापना भएको सो मन्दिरलाई सुन्दर, आकर्षक रूपमा बनाउनुपर्ने र आउँदो मंसिर महिनामा भव्य पूजा मेलाको आयोजना गरी प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको छ ।
रौतहट
प्रतिक्रिया