रौतहटको चन्द्रपुरमा बस दुर्घटना, ३२ जना घाइते

रौतहट । रौतहट जिल्लाको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ । चन्द्रपुर नगरपालिका– २ अन्तर्गत पर्ने लच्कामा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

जनकपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ४ ख ४१२४ नम्बरको बस राजमार्गको लच्कामा दुर्घटना हुँदा चालकसहित ३२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उक्त दुर्घटनामा घाइते हुने यात्रुहरुको अवस्था खतरामुक्त रहेको छ ।

बसका चालक धनुषा जनकपुर– ७ घर भएका राजकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उनको बायाँ हातमा चोट लागेको छ । दुर्घटनामा परेर रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका– १ का मानबहादुर परियार, सर्लाही हरिवन–१ का सुरजकुमार भुजेल, उनकी श्रीमती रीता भुजेल र २ वर्षकी छोरी रिसुजा भुजेल, बरहथवा–४ का अकल बहादुर विक, बरहथवा–५ का रुबी बेगम र उनको छोरा मोहम्मद अली हुसेनको टाउकोमा चोट लागेर घाइते भएको प्रहरीले जनाएको छ ।

बस तीब्र गतिमा ओभरटेक गर्न खोज्दा दुर्घटना हुन पुगेको अनुमान रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक गौरब महतले बताए । घाइते भएकामध्ये १२ जना सामान्य उपचारपछि घर फर्किएका छन् भने एक जनालाई चन्द्रपुर अस्पतालले थप उपचारको लागि काठमाडौं पठाएको प्रहरीले जनाएको छ । बाँकी २० जनाको सिविल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया