केन्द्रीय गुठी जनकपुरधामको विकासमा वाधक देखियो

मनोज कुमार साह, मेयर, जनकपुरधाम उपमहानगरपालिका

आफनो २ वर्षे कार्यकालको मूल्यांकन कसरी गर्नुहुन्छ ?

हाम्रा लागि सबैभन्दा ठूलो चुनौती फोहोर व्यवस्थापन थियो । फोहोर व्यवस्थापनमा पूर्ण सफल भइनसके पनि अहिले उपमहानगरपालिकाले ट्रयाक्टर खरिद गरेर फोहोर कलेक्सन गर्ने काम द्रुत गतिमा भइरहेको छ । फोहोर व्यवस्थापनको मुख्य काम भनेको ‘सिनेटरी ल्यान्ड फिल्ड साइट’को निर्माण हो । त्यसका लागि हामीले गुठीको ३० बिघा जग्गाका लागि २२ वटा अनुसूचिसमेत बनाएर केन्द्रीय गुठीमा प्रस्ताव दर्ता गरायौँ । तर, केन्द्रीय गुठीले विभिन्न बहाना बनाउँदै जग्गा उपलव्ध गराउन आनाकानी गर्दै आएको छ । केन्द्रीय गुठी जनकपुरधामको विकासमा बाधकको रूपमा अगाडि आएको छ । समग्रमा भन्ने हो भने फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइट निर्माणमा सबैभन्दा ठूलो वाधकको रूपमा केन्द्रीय गुठी रहेको छ । यसका लागि प्रदेश सरकार र संघीय सरकारले कुनै सहयोग गरेको छैन ।

२ वर्षे कार्यकालमा विभिन्न स्थानमा शौचालयको निर्माण, छाडा चौपाया नियन्त्रणका लािग १५ कठ्ठा जग्गामा गौशाला निर्माण गरिएको छ । त्यसैले अहिले सडकमा घुम्ने छाडा पशुहरूलाई नियन्त्रण गर्न सकिएको हो । पार्किङका लागि दशरथ मन्दिरको छेउमा पार्किङस्थल निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढाइसकेका छौँ । त्यसैगरी फुटपाथमा व्यवसाय गर्नेहरूलाई व्यवस्थित गर्नका लागि गोपाल धर्मशालाको केही जग्गा लिएर फुटपाथ व्यवसायलाई व्यवस्थापन गर्ने प्रक्रियामा लागेका छौँ । यसै चालु आर्थिक वर्षमा ई–रिक्सालाई व्यवस्थित गर्नका लागि कानुन बनाउन सफल भएका छौँ ।

जनकपुरधाममा पर्यटकको बसाईं लम्ब्याउन उपमहानगरपालिकाले कस्तो नीति अपनाएको छ ?

पर्यटकलाई जनकपुरधाममा टिकाउनका लागि यहाँका ऐतिहासिक तथा सांस्कृतिक मन्दिरहरूमा दर्शन गर्न पर्यटकहरूलाई सहजीकरण गर्न ई–रिक्सा व्यवसायीहरूलाई तालिम दिने तयारीमा छौँ । त्यसैगरी परिक्रमा क्षेत्रलाई नै जोडेर पर्यटकहरूलाई सम्पूर्ण सांस्कृतिक तथा ऐतिहासिक ठाउँ घुमाउनका लागि कार्यक्रम तयार गरिरहेका छौँ । पर्यटकहरूलाई जनकपुरधाममा २–३ दिन थप बसाल्ने रणनीतिमा हामी लागेका छौँ । यसले पर्यटकको वृद्धिसँगै व्यापार व्यवसायमा पनि प्रगति हुने हामीले अनुमान लिएका छौँ ।

जनकपुरधामका ऐतिहासिक स्थलहरूलाई छोप्ने गरी भएका सटरहरूको निर्माणले ती धार्मिकस्थलहरू पर्यटकले देख्न मुस्किल हुँदै गएको छ । यसलाई कसरी नियन्त्रण गर्नुहुन्छ ?

कुटीको अगाडि सटर निर्माण हुँदा गुठीले हेर्नुपर्ने हो नि ! हामीले सरकारी कामका लागि जग्गा माग्दा नदिने तर महन्थहरूले पैसा कमाउनका लागि त्यस्ता ऐतिहासिक स्थललाई छोप्ने गरी सटर निर्माण गर्दा गुठीले रोक्दैन । यो हाम्रो क्षेत्राधिकारभित्र नपर्ने हुँदा जनकपुरधाम उपमहानगरपालिकाले यसमा केही गर्न सक्दैन । जनकपुरधामका सन्त महन्थहरूले जग्गा पनि बेच्दै आएका छन् । जनकपुरधाममै विभिन्न ठाउँ यस्ता पनि छन् जुन महन्थहरूले मौखिकरूपमा बेचेका छन् । यसमा गुठीले कारबाही अगाडि बढाओस् ।

स्थानीय सरकारलाई गुठी हेर्न सक्ने अधिकार छैन र ?

स्थानीय सरकार ऐन २०७४ मा गुठीसम्बन्धी केही लेखिएको छैन । त्यसकारण पालिकालाई गुठीलाई केही गर्ने हक अधिकार छैन ।

जनकपुरधाम पोखरी नै पोखरीले भरिएको सहर हो । यसलाई सौन्दर्यीकरण गर्न उपमहानगरले के कस्ता नीति ल्याएको छ ?

पोखरी सौन्दर्यीकरणका लागि उपमहानगरपालिकाले काम गरिरहेको छ । पर्यटनका लागि पनि पोखरी सौन्दर्यीकरण गर्नु आवश्यक रहेकोले दुई महिनाभित्र टेन्डर आह्वान गरी यसको प्रक्रिया अगाडि बढाइने छ ।

प्रदेशको राजधानी पनि जनकपुुरधाम हो । पर्यटनको विकासका लागि प्रदेश सरकारबाट कतिको सहयोग छ ?


जनकपुरधामका लागि प्रदेश सरकारबाट १ रुपैयाँको लगानी भएको छैन । रंगभूमि मैदानका लागि छुट्याएको १६ करोडको योजनामा प्रदेश सरकारले काम गर्न सकेन । यस्तो कुनै ठोस काम प्रदेशको राजधानीका लागि गर्नुपर्ने हो अहिलेसम्म गर्न सकेको छैन । उपमहानगरपालिकाको अगुवाइमा झकझक्याउने काम भए पनि प्रदेश सरकारले नसुने झैँ गरेको अवस्था छ । प्रदेश सरकारमा पुगेर खानेपानी, तिरहुतिया गाछीको विकास, रंगभूमि मैदानको विकासका लागि निवेदनसमेत दर्ता गराउँदा नसुनिएको अवस्था छ । बरु संघीय सरकारका भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसँग जनकपुरधाम आउटर रिङरोड निमार्णका लागि आग्रह गर्दा उहाँ सकारात्मक हुनु भएकोले बाइपास बन्ने आशा बढेको छ ।

कार्यसम्पादन मूल्यांकनमा उकृष्ट बनेको जनकपुरधाम उपमहानगरलाई अहिले पनि कायम राख्न के गर्दै हुनुहुन्छ ?

हामीले सुशासनलाई प्राथमिकता दिँदै काम गर्दैछाैं । महालेखा परीक्षकको कार्यालयले आफ्नो रिपोर्टमा बेरुजु देखाउँदा फुलबुट्टा भर्दै लेख्ने पत्रकार साथीहरू अहिले हामी कार्यसम्पादनमा उत्कृष्ट हुँदा कलम बिसाएर बस्नुभएको छ । विगतमा कार्यकारी अधिकृत र एकाउन्टेन्टको अभावमा हामीले समयमा कामै गर्न सकेनौँ, त्यसैले बेरुजु देखिएको थियो । तर अहिले हाकिम र एकाउटेन्ट दुबैको उपलव्धता छ, हामी छिट्टै नै बेरुजु फस्र्योट गर्छौं ।

उपमहानगरपालिकाले सक्रियता देखाएर पुनः रंगशाला निर्माण प्रक्रिया थालेको छ । समयमा काम सम्पन्न हुनेमा कत्तिको आशावादी हुनुहुुन्छ ?

जनकपुरधाम मात्रै होइन मुलुककै महत्वाकांक्षी परियोजना मध्ये रामजानकी बहुउदेश्यीय रंगशाला पर्दछ । लामो समयदेखि सो जग्गामा खेल पनि हँुदै आएको थियो तर राष्ट्रिय खेलकुद परिषद्ले एकलौटीरूपमा सम्झौता भंग भएको भनेर गुठीलाई पत्र लेखेपछि समस्या आयो । आफ्नो पनि सपना रहेको रंगशाला निर्माणको सपना एकाएक टुटेपछि तुरुन्त काठमाडाँै पुगेर संघीय खेलकुद मन्त्रीको पहलमा पुनः सम्झौतालाई कायम गराउन सफल भयौँ । अब संघीय सरकारले समेत आउने बजेटमा रंगशालालाई सामेल गरेपछि जनकपुरधाममा बहुउदेश्यीय रंगशाला निर्माण हुने सपना पूरा हुने नै छ । यसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदान गरेको १६० करोड रुपैयाँ पनि प्रयोग हुने र यो गौरवको आयोजनाले जनकपुरधामलाई थप उचाइमा लैजानेमा हामी ढुक्क छौँ ।

भारतीय प्रधानमन्त्री मोदीले दिएको पैसालाई लिएर अहिले उपमहानगर र बृहत्तर जनकपुर विकास परिषद्बीच तानातान छ भन्ने हल्ला छ नि ?

कुनै समस्या छैन । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले प्रधानमन्त्री मोदीले प्रदान गरेको पैसाबाट पुरानो गोपाल धर्मशालालाई तोडेर नयाँ होटल बनाउन चाहेको छ । त्यो कदापि उचित छैन । ऐतिहासिक वस्तुलाई तोडेर नयाँ होटल बनाउनु पाच्य छैन, गोपाल धर्मशालालाई न्यून आय भएका श्रद्धालुहरूले प्रयोग गर्दै आएका छन् । त्यो ठाउँमा नयाँ होटल बनाएपछि न्यून आय भएका श्रद्धालुहरू कहाँ बस्ने ? फुटपाथमा बस्ने त ? उक्त पैसा भगवान् राम र सीताको स्मरणमा बन्ने रामजानकी बहुउद्देश्यीय रंगशालामा प्रयोग हुनेछ र त्यसको प्रक्रिया पनि छिट्टै सुरु हुन्छ ।

उपमहानगरले कृषि, स्वास्थ्य शिक्षामा कस्तो नीति ल्याएको छ ?

जनकपुरधामको अधिकांश जग्गा कृषि क्षेत्रअन्तर्गत छ तर यहाँ सिँचाइको समस्या व्याप्त छ । यसका लागि जलादी नदीमा बाँध निर्माण गरेर सिँचाइको व्यवस्थापन गर्ने रणनीति बनाएका छाँै । त्यसैगरी स्वास्थ्यअन्तर्गत सबै वडामा स्वास्थ्य ल्याबको निर्माण गरिएको छ । शिक्षातिर शिक्षकहरूलाई समयमै तलब निकासा गर्दै आएकोले सामुदायिक विद्यालयमा पढाइ पनि उत्कृष्ट छ । त्यसैगरी जनकपुरधाममा कृषि बजार निर्माण गर्ने प्रक्रियामा छौँ । जनकपुरधाममा उत्पादन भएको तरकारी कृषकहरूले सहजताका साथ किनबेच गर्न सक्ने र नगरवासीलेसमेत सस्तोमा सामान किन्न पाउन् भन्ने लक्ष्यका साथ जनकपुरधाम उद्योग वाणिज्य संघको पहलमा कृषि बजारको व्यवस्थापन गर्न लागेका छौँ । तर, जग्गा व्यवस्थापनका लागि यसमा पनि केन्द्रीय गुठी संस्थानका कारण समस्या उत्पन्न भएको छ ।

प्रतिक्रिया