वर्षाैँदेखि बन्द छोटी भन्सार सञ्चालनको माग

रौतहट । जिल्लामा रहेको छोटी भन्सार कार्यालय सञ्चालन नहँुदा व्यापारीदेखि सर्वसाधारण मारमा परेका छन् ।
राजस्वमा वृद्धि गराउने उद्देश्यले नेपाल भारतको सीमावर्ती क्षेत्रमा नेपाल सरकारले लगानी गरेर स्थापना गरेका छोटी भन्सार कार्यालय वर्षौंदेखि बन्द छन् । छोटी भन्सार सञ्चालनमा नआउँदा सर्वसाधारणलाई समस्या भएको छ । सञ्चालनमा नआएका कारण छोटी भन्सार कार्यालयको भवन पनि अलपत्र बनेको छ ।

जिल्लाको पाँच ठाउँमा रहेको छोटी भन्सार कार्यालय तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द्वको कारण मुलुकमा उत्पन्न असहज परिस्थितिको कारण हटाइएको थिए । माओवादी द्वन्द्वका बेला जिल्लाको ब्रहम्पुरी, मठिया लतमरी, औरैया, नरकटिया रामपुर र बंकुल छोटी भन्सार कार्यालय हटाएर जिल्ला भन्सार कार्यालयमा राखिएको थियो ।

जिल्लाका व्यापारी तथा छोटी भन्सार रहेका क्षेत्रका सर्वसाधारणलाई आयात निर्यातमा समस्या उत्पन्न हुन थालेपछि २०७२ सालमा सुब्बाको नेतृत्वमा ब्रम्हपुरी, औरैया र बंकुल छोटी भन्सार सञ्चालनमा ल्याइएको भन्सार कार्यालयका कर्मचारी सागिर आलमले बताए ।
बंकुल छोटी भन्सारमा काम गरेका कर्मचारी आलमका अनुसार कोभिड–१९ को प्रकोप आउनुभन्दा पहिलासम्म भाडाको घरमा भन्सार काट्ने गरिएको थियो ।

बंकुल बजारका व्यापारी अनु ट्रेडर्सका सञ्चालक ओमप्रकाश दासले छोटी भन्सार सञ्चालन नआउँदा भारतबाट ल्याइने सामान गौर भन्सार कार्यालयमा राजस्व तिर्न जानुपर्ने बाध्यता रहेको छ । उनले बन्द गरिएको छोटी भन्सार कार्यालयलाई पुनः सञ्चालनमा ल्याउनका लागि सम्बन्धित निकायसँग मागसमेत गरेका छन् ।

भारतबाट नेपालमा ल्याइने लताकपडा, किराना, इलेक्ट्रोनिक्स, मेसेनरी, खानेतेलको भन्सार तिर्न २० किलोमिटर टाढा गौरमा रहेको कार्यलयमा धाउनुपर्ने बाध्यता रहेको अर्का व्यापारी दीपककुमार जैसवालको दुःखेसो गरे । माओवादी द्वन्द्व कालमा ध्वस्त पारिएको छोटी भन्सार कार्यालयको नयाँ भवन निर्माण गरिए पनि सञ्चालनमा नआएकोमा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

जिल्ला भन्सार कार्यालय गौरका प्रमुख अमिन्द्र सिंहले बन्द रहेको छोटी भन्सार कार्यालय सञ्चालनका लागि विभागमा गरिएको पत्राचार स्वीकृति नभएकाले सञ्चालनमा आउन नसकेको बताए । उनले जनशक्ति प्रर्याप्त रहेको हुँदा कार्यालय सञ्चालनमा ल्याउन कुनै समस्या नहुनेसमेत बताए । ‘हाम्रो इच्छा पनि छोटी भन्सार सञ्चालन होस् भन्ने छ, तर माथिबाट कुनै निर्देशन नआएकोले सञ्चालन हुन नसकेको हो’, उनले भने ।

प्रमुख सिंहले मुख्य नाकाको भन्सार सञ्चालन रहेकोले लक्ष्य अनुसारको राजस्व संकलन हुन नसकेको बताए । कोभिडपछि बन्द भएको छोटी भन्सार सञ्चालनका लागि भन्सार विभागसँग पुनः आग्रह गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया