काठमाडौं, १० फागुन । ग्रिनल्यान्ड र विल्सनले दोस्रो यु–१४ अन्तरविद्यालय राष्ट्रिय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बुधबार विजयी सुरुआत गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उद्घाटन खेलमा ग्रिनल्यान्डले नवजीवनलाई ३७–१९ ले पराजित गर्यो । विजयी टोलीका लागि शंकर थापाले १४ अंक जोडे ।
पहिलो क्वार्टरमा ४–६ ले पछि परेको ग्रिनल्यान्ड अन्यमा भने अगाडि रह्यो । ग्रिनल्यान्डले दोस्रोमा १२–२, तेस्रोमा ७–५ तथा चौथोमा १४–६ अग्रता लिएको थियो ।
धीरेन मगरको १६ अंक सहयोगमा विल्सनले पुष्पसदनलाई ४६–२४ ले हरायो । पहिलो क्वार्टरमा १०–२ को अग्रता बनाएको विल्सन दोस्रो र तेस्रोमा पनि अग्रता लिने क्रममा १६–६ र १२–५ ले अगाडि रह्यो । विल्सन चौथोमा ८–११ ले पछि पर्यो ।
नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको गल्र्समा टिआइए, पेनउड, चाँदबाघ र एन्जल्स हर्ट विजयी भए ।
टिआइएले वृहस्पतिको चुनौती २४–४ ले पन्छायो । टिअआइएकी आकृती गुरुङले १८ अंक जोडिन् । पेनउडले नेपाल–जापानमाथि ३२–६ को सहज जित निकाल्यो । विजेताकी एलिना गुरुङले १४ अंक जोडिन् ।
चाँदबाघले बिएसटीलाई १०–२ ले पन्छायो । चाँदबाघकी सविनाले ६ अंक बटुलिन् । भद्रकाली विरुद्धको खेलमा एन्जल्स हर्ट २४–१५ ले विजयी भयो । एन्जल्स हर्टको जितमा विष्णु दगामीले १० अंक योगदान गरिन् ।
प्रतियोगिताको पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्नुभयो । रामकुमार बस्नेतको स्मृतिमा आयोजित प्रतियोगिताको ब्वाइजमा १५ तथा गल्र्समा २४ टिम सहभागी छन् । प्रतियोगिता फागुन १६ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया