सेनाद्वारा प्रदेशस्तरीय संयुक्त विपद् अभ्यास प्रस्तुत

लालबन्दी । सर्लाहीको मलंगवामा बिहिवार बिहान प्रदेशस्तरीय संयुक्त विपद् अभ्यास ‘अग्नी नियन्त्रण २०८०’ प्रस्तुत गरिएको छ । श्री भैरवी दल गण पाँच कुमारी ब्यारेक नवलपुरको आयोजनामा मलंगवा १० स्थित तिनबिघे खेल मैदानमा अग्नी नियन्त्रण सम्बन्धि बिपद् अभ्यास गरिएको हो । मुलुकमा हुने हरेक बिपत्तिमा उद्धार, सहयोग र संरक्षणमा अग्र स्थानमा रहने सेनाले हरिपुरको एउटा सानो गाउँको परिकल्पना गरेर सो अभ्यास गरेको हो ।

सो कार्यक्रम जिल्ला प्रशासन कार्यालय मलंगवा, जिल्ला स्वास्थ्य कार्यालय मलंगवा, जिल्ला रेडक्रस कार्यालय मलंगवा, जिल्ला प्रहरी कार्यालय सर्लाही, शसस्त्र प्रहरी बल नम्बर १० गण, बागमति सेवा समाज, डिभिजन वन कार्यालय र आरआरपिकेसँगको साझेदारीमा सम्पन्न गरिएको हो । तराईका जिल्लाहरुमा वर्षेनी आगलागीका घटना हुने गरेका छन् । जसमा मानवीय र भौतिक क्षति हुनुका साथै बनमा लाग्ने डढेलोमा परि जंगली बन्यजन्तुको समेत क्षति हुन्छ ।

अभ्यासमा खाना पकाउन प्रयोग गरिने सिलिण्डरको रेगुलेटरमा आगो सल्केको अवस्थामा कसरी निभाउने, आगो निभाउनका लागी पहिलो औंलाको प्रयोग, दोस्रो बाल्टिनले छोप्ने, तेस्रो, बलिरहेको ग्यास सिलिण्डरलाई तन्ना वा पर्दाले वरीपरीबाट बेरेर बाँधेमा आगो निभाउन बिधिको प्रयोग देखाईएको थियो ।

त्यसैगरी ठुलो विल्डिङ्गहरुमा लागेको आगोमा फसेका मानिसहरुको उद्धार कसरी गरिन्छ ? गर्न सकिन्छ भनेरसमेत देखाईएको भैरवी दल गण पाँच कुमारीका प्रमुख, प्रमुख सेनानी सुर्यबहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै वन जंगलमा चुरोट, बिँडी खाँदा वा सलाई, लाईटर जस्ता आगोजन्य बस्तु लिएर जाँदा सावधानी अपनाइएन भने हुन सक्ने आगलागी र क्षतिको बारेमा समेत प्रस्तुति गरिएको थियो ।

अभ्यासका क्रममा केही व्यक्तिहरू जंगलमा चुरोट सेवन गरेर जथाभावि फाल्दा वनमा आगो लाग्न सुरु भएको, वनमा लागेको आगो गाउँसम्म पगेको, केही घर पुरै जलेर नष्ट भएको, स्थानीयले हार गुहार गरेको र सेनालाई खबर पुगेपछि सेनाको टोली आएर अग्नी नियन्त्रणका लागी गरिएको प्रयासलाई देखाईएको थियो । कार्यक्रममार्फत आगलागीका घट्ना भएमा प्रारम्भिक उद्दार कसरी गर्ने ? घटनाको चारकिल्ला कसरी सुरक्षित राख्ने, विपद्का बेला स्थानीयसँग कसरी समन्वय गर्ने भन्ने कुराको डेमो प्रस्तुत गरिएको थियो । त्यसैगरी घाइतेलाई कसरी प्राथमिक उपचार गर्ने ?, पीडितको पुर्नस्थापना कसरी गराउने ?, गम्भीर घाइतेलाई अस्पतालसम्म कसरी लैजाने ? लगायतका विषय प्रस्तुतिमा समाविष्ट थियो ।

मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यमा भएको संयुक्त विपद् अभ्यास कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, उपप्रमुख जितेन्द्र कुशवाहा, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव, नेपाली सेनाका पृतनापति उपरथी सुदर्शन सिलवाल, वाहिनीपति सहायक रथी प्रकाश बहादुर चन्द, गणपति प्रमुख सेनानी कार्कि, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दयानिधि ज्ञवाली, सशस्त्र प्रहरी प्रमुख, विभिन्न पालिकाका प्रमुख, नागरिक समाज, संघसंस्थाका प्रतिनिधि, विद्यार्थीहरु, जिल्लाका संचारकर्मिहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमस्थलमा विपद्को बेला प्रयोग हुने उद्धार सामाग्रीहरुको समेत प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया