सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले बोदे बर्साइनमा रहेको सरकारी कार्यालयहरूको अनुगमन गरेको छ । बोदे बर्साइन नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालयलगायत विभिन्न सरकारी कार्यालयको अनुगमन गरी सेवा प्रवाह र कर्मचारीको कमको बारेमा जानकारी लिएको हो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा खटिएको टोलीले बोदे बर्साइनस्थित सरकारी कार्यालयको अनुगमन गरेको थियो । जिल्लामा सुशासन, सेवा प्रवाहलाई चुस्तदुरुस्त, कर्मचारीलाई अनुशासित र मर्यादित बनाउनका लागि कार्यालयहरूको अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
प्रशासन कार्यालयले आफ्नै कार्यालयबाट अनुगमनको सुरु गरेको थियो । थापाले भने, ‘प्रशासन कार्यालयमा कार्यरत कर्मचारी कार्यालयमा उपस्थित भएर पनि हाजिरी नगर्ने गरेकोे समस्या आफूले पाएकाले अनुगमन गरिएको हो’, उनले भने, ‘विभिन्न सरकारी कार्यालयमा गरिएको अनुगमनमा केही कर्मचारीले कार्यालयको पोसाक नलगाएको, कार्यालयमा उजुरी पेटिका नभएको जस्ता समस्या पाएको छु’, उनले भने ।
त्यस्तै कार्यालयमा अधिकांश कर्मचारीले परिचय पत्र नलगाएको देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पोसाक र परिचय पत्र नलगाएका कर्मचारीका लागि पहिलोपटक कार्यालय प्रमुख र कार्मचारीलाई नै सचेत बनाइएको छ । दोस्रो चरणको अनुगमनमा पनि त्यस्ता कर्मचारी फेला परेमा कारबाही गरिने बताइएको छ ।
संयुक्त अनुगमन गर्ने क्रममा जिल्ला प्रहरी सप्तरीका प्रमुख एसपी गजु सिद्दी ब्रजाचार्य, राष्ट्रिय अनुसन्धान विभाग सप्तरीका प्रमुख एसपी सुरेन्द्र कोइराला, सशस्त्र प्रहरीका प्रहरी डिएसपी, इलाका प्रशासन कार्यालय बोदे बर्साइनका प्रमुख दिनेशकुमार राउत लगायतको सहभागिता रहेको थियो ।
सप्तरी
प्रतिक्रिया