वीरगञ्ज । सञ्चारकर्मी दीपेन्द्र गिरीमाथि सांघातिक आक्रमण भएको हप्तौँ दिन बितिसक्दा पनि पर्सा प्रहरीले अभियुक्तलाई पक्राउ नगरेको भन्दै नेपाल प्रेस युनियन जिल्ला शाखा पर्साले आपत्ति जनाएको छ ।
युनियनका पर्सा सचिव इरफान अलीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै वीरगन्ज महानगरपालिका–११ श्रीपुर बस्ने पत्रकार दीपेन्द्र गिरी र उनको परिवारमाथि भएको सांघातिक आक्रमणप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
गत चैत ११ गते आइतबार राती ९ बजे सोही स्थानमा बस्ने रुपेश पटेल, दीपेश पटेल लगायतकाले पत्रकार गिरीको घरमै प्रवेश गरी पत्रकार गिरी, उनको श्रीमती र आमा समेतलाई बिनाकारण आक्रमण गरी गम्भीर घाइते बनाएकोमा जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता भइसकेको छ ।
घटना भएको हप्ता दिनभन्दा बढी भइसक्दा पनि हालसम्म दोषीलाई प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अगाडि नबढाएकोमा यथाशीघ्र दोषीहरूलाई पक्राउ गरी कानुनअनुसार कडाभन्दा कडा कारबाहीका लागि जोडदार रूपमा माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका सदस्यसमेत रहेका पत्रकार गिरी मिर्मिरे उज्यालो दैनिक, तराई रिपोर्ट साप्ताहिक लगायतका सञ्चारमाध्यमहरूमा आवद्ध रहेका छन् ।
प्रतिक्रिया