काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् । तत्कालीन माओवादी जनयुद्धका तेस्रो डिभिजन कमान्डर खामलाई काठमाडौँको ठमेलबाट प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
व्यापारी रामहरि श्रेष्ठको अपहरण र हत्या अभियोगमा फरार भएपछि खामको मुद्दा चितवन जिल्ला अदालतले मुल्तबीमा राखेको थियो । पक्राउपछि उनलाई अदालत बुझाएर मुद्दाको कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।
२०६५ वैशाख १५ गते श्रेष्ठ कोटेश्वरस्थित आफ्नै घरबाट अपहरणमा परेका थिए । त्यतिबेला श्रेष्ठलाई चितवनस्थित माओवादी लडाकूको शक्तिखोर शिविरमा पु¥याइएको थियो । श्रेष्ठको घरमा रहेको जनमुक्ति सेनाको तेस्रो डिभिजनको सम्पर्क कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ नगद र हतियार चोरी भएको भन्दै श्रेष्ठलाई खामसहित गोविन्दबहादुर बटाला, केशव अधिकारी, गंगाराम थापा, अर्जुन कार्कीलगायतको टोलीले अपहरण गरेको आरोप छ ।
२०६५ जेठ १२ गते चितवनको साविक कविलाश गाविस–१ जुगेडीस्थित त्रिशूली नदी किनारमा श्रेष्ठको शव भेटिएको थियो । श्रेष्ठको पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु टाउकोमा धारिलो हतियारको चोटका कारण भएको देखिएको थियो ।
घटनापछि रामहरि श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले खाम र गोविन्दबहादुर बटालासहितविरुद्ध २०६५ जेठ ८ गते किटानी जाहेरी दिएकी थिइन् । गोविन्द बटाला जिल्ला र उच्च अदालतबाट दोषी ठहर भए पनि सर्वोच्चको संयुक्त इजलासबाट सफाइ पाइसकेका छन् ।
बटालाविरुद्ध फैसला भए पनि अन्यका हकमा मुद्दा मुल्तबीमा राखिएको थियो । राजनीतिक संरक्षणका कारण प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।
खामविरुद्ध काठमाडौँमा पनि हातहतियार तथा खरखजना र यार्सागुम्बा लुटपाट सम्बन्धी मुद्दा छ । चिनियाँ व्यापारीसँग यार्सागुम्बा व्यापारको ५ करोड रुपैयाँ लुटेको आरोपमा पनि उनलाई प्रहरीले खोजिरहेको थियो ।
प्रतिक्रिया