गोल्डेनगेट र गुरुकुलको दोस्रो जित

काठमाडौं : गोल्डेनगेट र गुरुकुलले प्रथम कीर्तिपुर कप बास्केटबल प्रतियोगितामा सोमबार लगातार दोस्रो जित हात पारेका छन् । दुवैको यो दोस्रो खेल हो ।कीर्तिपुर बास्केटबल कोर्टमा भएको खेलमा गोल्डेनगेटले ह्वाइटहाउसलाई ७१–६६ ले पराजित गर्‍यो । विजेताका कर्मा गुरुङले १९ अंक जोडे ।

पहिलो क्वार्टरमा गोल्डेनगेटले १८–१० को अग्रता लियो । दोस्रो क्वार्टरमा ह्वाइटहाउसले २४–१५ स्कोर गर्दै समग्रमा १ अंकले अघि रह्यो । तेस्रो क्वार्टर गोल्डेनगेटले २५–१३ ले आफ्नो पक्षमा पार्दै जितको आधार खडा गरेको थियो । चौथो क्वार्टर ह्वाइटहाउसले १९–१३ ले आफ्नो पक्षमा पारे पनि जित हात पार्न सकेन ।
गुरुकुलले आर्मीमाथि ९४–४५ को सहज जित निकाल्यो । विजेताका सदीश प्रधानले उत्कृष्ट प्रदर्शन गर्दै ३४ अंक बटुले । सुरुआतमा २७–८ को अग्रता लिएको गुरुकुलले अन्तिमसम्म अग्रतालाई जोगाइराख्यो । गुरुकुलले दोस्रोमा २३–१०, तेस्रोमा २६–१३ र चौथोमा १८–१४ को प्रदर्शन गर्‍यो ।
डाबल राउन्ड रविन लिगको प्रतिस्पर्धामा आयोजक नयाँ बजार क्लब, कीर्तिपुरले पनि जितका साथ यात्रा प्रारम्भ गरेको छ । नयाँ बजारले नासाको चुनौती ८७–७२ ले पन्छायो । नयाँ बजारको तिजमा आयुश सिंहले २३ अंक
योगदान गरे ।
पहिलो क्वार्टर २५–१३ ले आफ्नो पक्षमा पारेको नयाँ बजार दोस्रोमा ११–१८ ले पछि पर्‍यो । नयाँ बजारले तेस्रो क्वार्टरमा २९–१९ अंक जोड्यो । चौथो तथा अन्तिम क्वार्टर २२–२२ को बराबरीमा सकियो ।
प्रतियोगिताअन्तर्गत शुक्रबार आयोजक नयाँ बजार र गुरुकुलबीच खेल हुनेछ ।

प्रतिक्रिया