काठमाडौं : आर्मी र एपिएफका खेलाडीले तेस्रो संस्करणको हिरो कान्तिपुर हाफ म्याराथन (२१ दशमलव १ किलोमिटर) मा सोमबार वर्चस्व जमाएका छन् ।
कान्तिपुर पब्लिकेसन्सको २०औँ वर्ष पूरा गरेको उपलक्ष्यमा भएको हाफ म्याराथनमा पुरुषतर्फ शीर्ष ६ मा आर्मीकै खेलाडी अटाए ।
कल्याण बानियाँ १ घन्टा ९ मिनेट २५ सेकेन्डको समय निकाल्दै पहिलो भए । कृष्ण बस्नेत १ घन्टा ९ मिनेट २० सेकेन्डको समय निकाल्दै दोस्रो भए । तेस्रो भएका लेटरसिंह खत्रीले १ घन्टा ९ मिनेट ४० सेकेन्डमा दूरी पार गरे । तेस्रोपल्ट भएको कान्तिपुर हाफ म्याराथनको उपाधि कल्याणले पहिलोपल्ट जितेका हुन् । यस्तै, हरि रिमाल चौथो, राजकुमार खत्री पाँचौँ र होमलाल श्रेष्ठ छैटौँ भए ।
महिलाको शीर्ष ६ मध्ये छैटौँबाहेक शीर्ष ५ मा एपिएफकै खेलाडी रहे ।
कान्छीमाया कोजूले दोस्रोपल्ट उपाधि जित्ने क्रममा १ घन्टा २५ मिनेट ४६ सेकेन्डको समय निकालिन् । उनी ०६७ सालमा पनि पहिलो भएकी थिइन् । गत वर्षकी विजेता विन्द्रा श्रेष्ठ भने १ घन्टा २८ मिनेट २२ सेकेन्डको समय निकाल्दै दोस्रो भइन् । तेस्रो भएकी कृष्णेश्वरी सिन्तकलाले १ घन्टा ३१ मिनेट ६ सेकेन्डको समय निकालिन् । यस्तै, गीता खत्री चौथो, सोनु जयराई पाँचौँ र सरिता मासी छैटौँ भए ।
हाफ म्याराथनका पुरुष र महिला दुवैतर्फका विजेताले ५०–५० हजार रुपियाँ पाए । यस्तै, दोस्रोले ३०–३० र तेस्रोले २०–२० हजार रुपियाँ पाए । हाफ म्याराथनमा ८ सय १२ खेलाडीले सहभागिता जनाएका थिए ।
कृष्णको हयाट्रिक
ह्विलचियर ५ किलोमिटरमा दौडमा कृष्णराज चौधरीले हयाट्रिक गरेका छन् । उनले १२ मिनेट ३४ सेकेन्डको समय निकाले । उनले पहिलो र दोस्रो संस्करणमा पनि उपाधि जितेका थिए । भरत अधिकारी दोस्रो र तेजकुमार घर्तीमगर तेस्रो भए ।
महिलामा सोनिका ढकाल १७ मिनेट २९ सेकेन्ड समय निकाल्दै पहिलो भइन् । यामी झाँक्री मगर दोस्रो र लक्ष्मी खत्री तेस्रो भए । यो स्पर्धाको विजेताले १०–१० हजार रुपियाँ पाए ।
कर्पोरेट–मिडिया ५ किलोमिटर दौडको पुरुषमा लक्ष्मी काफ्ले १६ मिनेट १२ सेकेन्डको समय निकाल्दै पहिलो भए । हरेराम नेपाल दोस्रो र धर्म महर्जन तेस्रो भए । महिलातर्फ २० मिनेट १७ सेकेन्डको समय निकाल्दै हुमे बूढामगर पहिलो भइन् । सुमित्रा कोजू दोस्रो र माया स्याङतान तेस्रो भए । यो स्पर्धाको विजेताले १०–१० हजार रुपियाँ पाए । यस्तै, ३ किलोमिटर कर्पोरेट वाकाथन पनि भएको छ । कान्तिपुुर म्याराथनको उद्घाटन नेपाल सरकारका मुख्यसचिव लीलामणि पौडेलले कान्तिपुर परिसरमा गरेका थिए ।
प्रतिक्रिया