बारा । नेपाल आयल निगम अम्लेखगञ्ज डिपोमा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर पार्किङमा समस्या देखिएको छ । इन्धन लिन देशभरबाट दैनिक सयौँको संख्यामा आउने ट्यांकरको पार्किङमा समस्या भएको हो ।
२०७६ भदौ २४ देखि पाइपलाइनबाट डिजल आयात हुन थालेपछि निगमको अम्लेखगञ्ज डिपोबाट हुने बिक्रीबाहेक पनि विराटनगर, जनकपुर, भैरहवा, पोखरा तथा काठमाडौंसम्मका कार्यालयहरूका लागि आवश्यक डिजल अम्लेखगञ्जबाट लोड भएर जाने गर्दछ । हाल डिजल बोकेका तीन सय ट्यांकर दैनिक निगमको अम्लेखगञ्ज डिपोबाट छुट्ने गर्दछन् ।
पछिल्लो समय मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम धमाधम भइरहेकाले केही महिनाभित्र पाइपलाइनबाट पेट्रोल र मट्टितेलसमेत आउँछ । जसका कारण ट्यांकर पार्किङमा झनै ठुलो समस्या हुने देखिन्छ ।
आयल निगम अम्लेखगञ्ज डिपोका प्रमुख विनितमणि उपाध्यायले निकट भविष्यमै डिजल र पेट्रोल लिन दैनिक ठुलो संख्यामा ट्यांकरहरू अम्लेखगञ्ज आउने भएकाले अहिलेकै ठाउँमा पार्किङ सम्भव नहुने बताए ।
निगमलाई पेट्रोलियम ट्यांकर पार्किङमा अहिले नै धेरै समस्या भएको र केही महिनापछि पाइपलाइनबाट पेट्रोल आउन थालेपछि झनै गाह्रो हुने उपाध्यायले बताए । उनकाअनुसार जग्गाको व्यवस्थापन गरिदिन निगमले जीतपुरसिमरा महानगरसँग लिखित र मौखिक रूपमा पटकपटक अनुरोध गरेको र यो विषयमा छलफल भएता पनि कुनै टुंगो लाग्न नसकेको बताए ।
निगमले उपमहानगरलाई पत्र पठाएर अम्लेखगञ्जमा तीनदेखि चार बिघा जग्गा उपलब्ध गराइदिन अनुरोध गरेको छ । हाल आयल निगम अम्लेखगञ्ज डिपोको दक्षिणपट्टी रहेको करिडोरमा पार्किङ गरिरहे पनि पछि नयाँ निर्माण भएको डिपोसम्म आउन–जान यही करिडोर प्रयोग गर्नुपर्ने भएकाले ट्यांकर पार्किङका लागि समस्या हुनसक्ने निगमको जिकिर छ । जीतपुर सिमरा उपमहानगरपालिका नगरप्रमुख राजन पौडेलले निगमको ट्यांकर पार्किङका लागि जग्गा खोजी भइरहे र यस बारे वडा–२१ र २२ का वडाध्यक्षसँग खाली सरकारी जग्गाको बारेमा छलफल भइरहेको बताए ।
निगमले सो पत्रको बोधार्थ निगमको केन्द्रीय कार्यालय काठमाडौं, इन्जिनियर परियोजना तथा सूचना प्रविधि विभाग, जीतपुर सिमरा वडा–२१ र २२ मा पनि पठाएको छ ।
हाल पेट्रोलियम पदार्थ लोड भएका वा खाली ट्यांकरहरू अम्लेखगञ्ज आसपासका स्थानीयको आँगन, सडक, पेटीमा पार्किङ हुँदै आएको छ । अतिप्रज्वलनशील पदार्थ बोकेका ट्यांकरहरू यसरी जथाभावी पार्किङ गर्दा जुनसुकै बेला ठुलो दुर्घटना निम्तिन सक्ने देखिन्छ । हाल दैनिक २ सय ५० देखि ३ सय वटा ट्यांकर अम्लेखगञ्जमा आवतजावत गर्दछन् ।
बारा
प्रतिक्रिया