नेपाली खेलकुदको पछिल्ला एक वर्ष निराशाजनक रह्यो । सबैभन्दा लोकप्रिय मानिएको खेल फुटबलबारे भन्नुपर्दा एएफसी च्यालेन्ज कपको कमजोर प्रदर्शनले पुरुष फुटबलमा नेपालको स्तरबारे प्रश्न खडा भएको छ । घरेलु भूमिमै भएको स्पर्धामा नेपाली फुटबल टोली पहिलो चरणबाट बाहिरियो । तैपनि, यसले फुटबलको लोकप्रियतामा कमी ल्याएन, न त कर्पोरेट हाउसले फुटबललाई गर्ने सहयोगमा ह्रास नै ल्यायो ।
नेपालको सबैभन्दा सम्मानित मानिएको खेल तेक्वान्दोमा विगत केही वर्षभैँm पछिल्लो वर्ष पनि उपलब्धि शून्य रह्यो । विगतमा नेपालको साख जगाउँदै आएको तेक्वान्दो ०६८ सालको चितवन साधारण सभाले पारित गरेको एकडेमीको अवधारणालाई मूर्त रूप दिनमै व्यस्त रह्यो । ‘हाम्रो गुमेको साख फेरि फिर्ता हुन्छ’ भन्ने संघ अधिकारीको दाबी र एकडेमी स्थापनाको सुरुआतबाहेक तेक्वान्दोले गतवर्षमा नेपाली खेलकुदलाई केही दिन सकेन ।
गतवर्ष मार्सल आर्ट विवादको केन्द्रमै रह्यो । विश्व कराते महासंघ (डब्लुकेएफ) र खेलकुद परिषद्बाट मान्यता प्राप्त गर्ने सवालमा नेपाल कराते महासंघ रुमल्लिरह्यो । यही विवादका कारण फ्रान्सको पेरिसमा सम्पन्न विश्व च्याम्पियनसिपमा नेपालले भाग लिन पाएन । बक्सिङ संघको साधारणसभा र निर्वाचन एक वर्षअघि भएको थियो । साधारणसभापछि पनि विवाद बढेकाले संघको नेतृत्वबारे टुंगो लगाउन लामोसमय लाग्यो । विवादकै बीच चीनमा भएको विश्व च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी सरस्वती मगर पहिलो चरणमै पराजित भइन् ।
मार्सल आर्टका अन्य विधामा नेपाली खेलाडी कमजोर रहे पनि उसुकी चाहना बम्जनले मकाउमा भएको चौथो विश्व जुनियर उसु च्याम्पियनसिपमा पाएको कांस्य पदक नेपाली खेलकुदले प्राप्त गरेको पछिल्लो उल्लेख्य सफलता हो । अमेरिकी खेलाडीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेकी चाहना इजिप्टकी खेलाडीसँग पराजित भइन् । झरना गुरुङले भियतनामको होचिमिन्हमा भएको एसियन च्याम्पियनसिपको ५६ केजीमा कांस्य पदक जितिन् । बाइ पाएर सेमिफाइनल प्रवेश गरेकी झरनाले खेल जीवनमा एसियाली स्तरको पदक जितेको यो दोस्रोपटक हो । फुलकन्ट्याक्ट करातेमा अनिसा लामाले एसियन च्याम्पियनसिपमा कांस्य पदक जितिन् । बंगलादेशमा भएको दक्षिण एसियाली क्याडेट जुडोमा नेपाली टोली पहिलो भयो ।
क्रिकेटमा नेपालले डिभिजन फोर र एसिसी ट्रफी उपाधि जित्यो । क्षेत्रीय रूपमा पाँचाँै अथवा छैटाँै स्थानभन्दा माथि उक्लन नसक्ने अवस्थामा रहेको क्रिकेटमा यो उपाधि चर्चा गर्न लायक रह्यो । टर्कीको इस्तानबुलमा भएको चेस ओलम्पियाडमा केशव श्रेष्ठ र रूपेश कुमार जयसवालको उत्कृष्ट प्रदर्शन नेपाली खेलकुदको चर्चा गर्न लायक घटना बन्यो । दक्षिण एसियाली भारोत्तलनमा तारा पुनले जितेको स्वर्ण पदक चाहनाले प्राप्त गरको सफलताकै स्तरमा रह्यो ।
श्रीलंकामा भएको दोस्रो साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा नेपाली टोलीले फाइनलसम्मको यात्रा तय गर्यो । भारतबाहेकका सबै प्रतिद्वन्द्वीसामु नेपाली टोली वजनदार सावित भयो । टिम खेलमा गत वर्ष नेपालले हात पारेको उल्लेख्य सफलता यही नै रह्यो ।
विगतमा निस्क्रिय रहेका थुप्रै खेल संघले यो वर्ष आफूहरूमाथिको आलोचना घटाउने प्रयास गरे । अल्छी संघ अधिकारीबाट आरोपित संघहरू जुर्मुराएको प्रमाणस्वरूप हकी संघले वीरगन्जमा दोस्रो क्यास प्राइज प्रतियोगिता, जिम्न्यास्टिक संघले काठमाडांैमा विद्यालयस्तरीय प्रतियोगिता र राखेपबाट मान्यता प्राप्त कबड्डी संघको राष्ट्रिय प्रतियोगिता झन्डै एकै समय आयोजना गरे । नेपाल ह्यान्डबल संघले एसियन जोनल प्रतियोगिता आयोजना गर्यो । प्रतियोगितामा नेपाली महिला टोलीले तेस्रो स्थान सुरक्षित गर्यो ।
नेपाल टेबलटेनिस संघ र नेपाल बुद्धिचाल संघमा विवाद देखा परे । खेल संघहरूले साधारणसभा गरे पनि प्राय: पुरानै नेतृत्वले निरन्तरता पाए । लामो समयदेखि भलिबल संघको नेतृत्व गरेका गंगाबहादुर थापालाई भने दानबहादुर तामाङले प्रतिस्थापन गरे ।
घरेलु खेलकुदको कुरा गर्दा सुदूरपश्चिमले छैटौँ राष्ट्रिय खेलकुद आयोजना गर्यो । प्रतियोगितामा एपिएफकी धाविका सविता चौधरीले दुई वटा राष्ट्रिय कीर्तिमान कायम गर्दै आफूलाई अन्य नेपाली एथलेटभन्दा पृथक कोटीमा राखिन् । प्रमिला रिजाल, तिलकराम थारू, सिद्धान्त अधिकारी, सुनिता थापा, मणिराम चौधरी र नङ्सलदेवी तामाङ छैटाँै राष्ट्रिय खेलकुदमा नायकका रूपमा स्थापित भए ।
सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिगमा थ्री–स्टार क्लबले पहिलो चरण सकिँदासम्म आफूलाई अग्रस्थानमा राख्यो । महिला फुटबलमा पुलिसकी फरवार्ड चन्द्रा भण्डारी सबैभन्दा अब्बल प्रमाणित भइन् । राष्ट्रिय टोलीकी बाँया रक्षक चन्द्राले पुलिस क्लबबाट फरवार्डका रूपमा खेल्दै आफ्नो टोलीलाई एनसेल कप फुटबल प्रतियोगिताको उपविजेता बनाइन् । साथै महिला लिग फुटबल प्रतियोगितको च्याम्पियन बनाइन् । एक प्रतियोगितामा उत्कृष्ट फरवार्ड बनेकी उनी अर्को प्रतियोगितामा उत्कृष्ट खेलाडी बनिन् ।
अन्तर्राष्ट्रिय स्तरमा पदक प्राप्त गर्ने सम्भावना नगण्य रहेको पौडी खेलमा शिरीष गुरुङले एक पछि अर्को राष्ट्रिय कीर्तिमान कायम गर्दै सनसनी फैलाए । छैटाँै राष्ट्रिय खेलकुदका डबल स्प्रिन्ट च्याम्पियन सिद्धान्त अधिकारी भारतीय सेनामा आबद्ध भएपछि अब उप्रान्त उनले अन्तर्राष्ट्रिय खेलमा भारतकै प्रतिनिधित्व गर्ने सम्भावना बढेको छ । यो घटना नेपाली खेलकुदका लागि अप्रिय बन्यो । पहिलो ओलम्पियन भूपेन्द्र सिलवालले यसै वर्ष देह त्याग गर्नु नेपाली खेलकुदले भोगेको सबैभन्दा दु:खद घटना बन्यो ।
फुटबलमा थुप्रै स्क्यान्डल भए । ए डिभिजनमा प्रवेश गर्ने नेपालको पहिलो फुटबल एकडेमी मध्यपुर युथ एसोसिएसनलाई अनुशासनहीन भएको आरोपमा दुई वर्षसम्म प्रतिबन्ध लगाइयो । फुटबलको दुनियाँमा कही नहुने दुर्घटना घटाउने नेपाल आर्मीको टोलीलाई कुनै कारबाही नभएपछि नेपाली खेलकुद नियम र मान्यताबाट नभई बलबाट निर्देशित हुन्छ भन्ने आरोप पुष्टि भयो ।
एएफसी च्यालेन्जकपको बन्द सत्रमा रहेका आफ्नो दुई खेलाडीलाई नेपाल आर्मीले अपहरण शैलीमा भगायो, जसको विरोधमा नेपाली टोलीका प्रशिक्षक ग्राहम रोबर्ट्सले राजीनामा दिए । यो घटनालाई प्रशिक्षक रोबर्ट्सले २१औँ शताब्दीमा खेलकुदको मर्ममाथि भएको सबैभन्दा प्रहारको संज्ञा दिए । साथै, नेपाली खेलकुद ढुंगे युगभन्दा पछि रहेको भन्दै ब्यंग गरे । पछिल्लो वर्ष नेपाली खेलकुदले सामान्य सफलता पाए पनि विभिन्न दुर्भाग्यपूर्ण ‘स्क्यान्डल’ले यसलाई ओझेल पार्यो ।
प्रतिक्रिया