सर्लाही । मधेस प्रदेशमा सबभैन्दा बढी विद्युत् चुहावट सर्लाहीमा हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरणको मधेस प्रदेश कार्यालय जनकपुरधामले सर्लाहीमा सबैभन्दा बढी विद्युत् चुहावट हुने गरेको जनाएको छ । सर्लाहीको मलंगवा वितरण केन्द्रबाट विद्युत् चुहावट ४४ दशमलव ९९ प्रतिशत रहेको छ ।
प्राधिकरणका प्रादेशिक प्रमुख मुनीन्द्र ठाकुरले मधेस प्रदेशकै सबैभन्दा बढी विद्युत् चुहावट हुने वितरण केन्द्रको रूपमा मलंगवा रहेको जनाएका छन् ।
यसै गरी मधेस प्रदेशको दोस्रो सबैभन्दा विद्युत् चुहावट हुने केन्द्रमा बाराको सिम्रौनगढ र तेस्रोमा रौतहटको मौलापुर रहेको छ । सिम्रौनगढमा ४२ दशमलव ५४ प्रतिशत र मौलापुरमा ४१ दशमलव शून्य २ प्रतिशत विद्युत् चुहावट हुने गरेको छ ।
प्रदेशको सबैभन्दा कम विद्युत् चुहावट हुने वितरण केन्द्रमा बाराको सिमरा रहेको छ । सिमरा वितरण केन्द्रबाट शून्य दशमलव ७१ प्रतिशत विद्युत् चोरी हुने गरेको छ । यसै गरी वीरगञ्ज वितरण केन्द्रबाट २ दशमलव ३६ प्रतिशत र सिराहाको मिर्चैया वितरण केन्द्रबाट ६ दशमलव १६ प्रतिशत विद्यत् चोरी हुने गरेको जनाइएको छ ।
मधेस प्रदेशमा विद्युत् चुहावटको दर अधिक देखिए पनि अहिले बिस्तारै कम भइरहेको प्रादेशिक कार्यालय प्रमुख ठाकुरले बताए । मधेस प्रदेशमा सबैभन्दा बढी हुकिङ गर्ने, चाडपर्व, मेला तथा घरपरिवारको उत्सव आदिमा अप्राविधिक चोरी हुने गरेको ठाकुरले बताए । छठ तथा मेला र जात्राको अवसरमा विद्युत् चोरी गरेर झिलीमिली बनाउने कुप्रवृत्ति विद्यमान रहेकोमा अब समाज बिस्तारै सचेत हुँदै गएको ठाकुरले बताएका छन् । उनका अनुसार सिँचाइमा विद्युत्को प्रयोग बढेको र कृषि मिटरको विद्युत् महसुल बुझाउने सचेतना निकै कम भएको अवस्थामा किसानको मिटर नै तानेर ल्याउने गरेको छ ।
विद्युत् चुहावट नियन्त्रण गर्न सुरक्षाकर्मीको सहयोगमा विद्युत् प्राधिकरण सक्रिय रहेको बताउँदै हरेक वर्ष तीनदेखि चार हजार मानिसलाई समातेर कारबाही गर्ने गरेको प्रदेश प्रमुख ठाकुरले बताए । विद्युत् चुहावट नियन्त्रणको क्रममा विद्युत् कर्मचारी तथा सुरक्षाकर्मीमाथि आक्रमण हुने गरेकोमा प्राधिकरण त्यस्तो अवाञ्चित गतिविधिदेखि नडराएर निर्ममतापूर्वक अगाडि बढेको प्राधिकरणको भनाइ छ । विद्युत् चुहावटलाई सरकारी सम्पत्ति हिनामिना गरेको सरह कारबाही गर्नुपर्ने र समाजले पनि सोहीअनुसार लिनुपर्ने बताउँदै ठाकुरले विद्युत् चोरी गर्ने र ठूलो मानिस बन्नेलाई सामाजिक बहिष्कारसम्म गर्नुपर्ने बताएका छन् ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया