बारा । निजगढ नगरपालिकाले नगरपालिकाभित्र रहेका विद्यालयको सघन अनुगमन जारी राखेको छ । नगरस्तरीय शैक्षिक सुधार कार्यदलले सेवा क्षेत्र भित्रका विद्यालयको सघन अनुगमन गरी थप शैक्षिक सुधारका लागि योजना बनाउन अनुगमन थालेको कार्यदल संयोजक तथा नगरउपप्रमुख सोममाया थिङले बताइन् ।
सोमबार कार्यदलले निजगढ नगरपालिका–७ मा रहेको सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयको पनि अनुगमन गरेको छ । कार्यदल संयोजक थिङको नेतृत्वमा रहेकोे टोलीले विद्यालयको विद्यार्थी संख्या, शिक्षक उपस्थिति, विद्यालयको शैक्षिक गतिविधि, भौतिक अवस्था, शैक्षिक सामग्री तथा त्यसको प्रयोग लगायतका विषयमा अनुगमन गरी जानकारी लिएको छ । कार्यदललाई विद्यालयको समग्र अवस्थाबारे यथार्थ जानकारी दिएको विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वर्णकारले बताए ।
विद्यालयले शैक्षिक सुधारका लागि प्रतिबद्धताका साथ लागिरहेको भन्दै प्रधानाध्यापक स्वर्णकारले विद्यालयका विभिन्न समस्या समाधानका लागिसमेत सरोकारवालालाई आग्रह गरेको बताए । आफूहरूले विद्यालयको समग्र पक्षको बारेमा जानकारी लिएको भन्दै यसकै आधारमा आगामी योजना तयार गरिने उपप्रमुख थिङले बताइन् । सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय सुधारोन्मुख रहेको भन्दै थप सुधार गर्न विद्यालय लाग्नुपर्ने र आवश्यक सहयोगका लागि नगरपालिका पनि लाग्ने उनको भनाइ छ ।
अनुगमन टोलीमा निजगढ नगरपालिकाका शिक्षा अधिकृत उत्तम लामिछाने, कार्यदल सदस्यहरू सुदर्शन कोइराला, हस्तबहादुर लामा, वडा अध्यक्ष टेकबहादुर लामा, ज्ञानबहादुर गोले, मुकुन्द विष्ट, पूर्ववडा अध्यक्ष रामजीप्रसाद बजगाई, नगरउपप्रमुख सचिवालय पेमामाया लामा लगायतको सहभागिता रहेको थियो ।
बारा
प्रतिक्रिया