मनाङ–मस्र्याङदीद्वारा सिमरा गोल्डकपको उपाधि रक्षा

वीरगन्ज, ६ फागुन । साविक विजेता मनाङ– मस्र्याङ्दी क्लबले सिमरामा सम्पन्न म्याजिक मोमेन्ट चौथो सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । सिमरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गर्दै मनाङले लगातार दोस्रोपटक उपाधि जितेको हो । जितसँगै मनाङले मोफसलकै सर्वाधिक पुरस्कार राशि ४ लाख रुपियाँसहित ट्रफी हात पारेको छ ।

उपविजेता हिमालयनले २ लाख रुपियाँमा चित्त बुझाउन बाध्य भयो । मनाङको जितमा एक मात्र निर्णायक गोल विदेशी खेलाडी फेल्स सजिर्यो सिकोले गरेका थिए । उनले खेलको १२औँ मिनेटमै मनाङलाई अग्रता दिलाएका थिए । शिव श्रेष्ठको सटिक पासमा ‘डी’बक्स भित्रबाट उनले गरेको गोल नै प्रतियोगिताको निर्णायक बन्यो ।
पहिलो हाफको १२औँ मिनटमै अग्रता लिएपछि मनाङले हिमालयनलाई पूर्ण दबाबमा राख्यो । खेल अवधिभर पूरै समय मनाङ आक्रामक शैलीमा प्रस्तुत भएको थियो । हिमालयन शेर्पाका गणेश खड्का र धीरज तामाङमाथी म्यान टु म्यान रणनीति अपनाएको मनाङले गोलको अवसर नै सिर्जना गर्न दिएन । हिमालयनका गणेश र धीरजले पनि अघिल्ला खेलमा जस्तो प्रदर्शन गर्न सकेनन् ।
डिफेन्डर सचिन्द्र धिमालको अनुपस्थितिमा हिमालयनको रक्षापंक्ती कमजोर देखिएको थियो । गोलरक्षक विनय श्रेष्ठले मनाङको धेरै प्रयासलाई विफल पारेका थिए । मिड फिल्डर हेमन गुरुङलाई पनि हिमालयनले दोस्रो हाफमा मात्र मैदान प्रवेश गराएको थियो ।
दोस्रो हाफको अन्त्यतिर केही प्रयास गरे पनि हिमालयनले बराबरी गोल फर्काउन सकेन ।
शनिबार दिनभर परेको अबिरल वर्षाका कारण दुवै टोलीका खेलाडीले अघिल्ला खेलमा जस्तो प्रदर्शन गर्न सकेनन् । वर्षाका कारण खेल प्रभावित नभए पनि सिमसिम परेको पानीमा रुझेरै भए पनि खेलाडीले ९० मिनेट जितका लागि संघर्ष गरे ।
सिमराका दर्शकले पानीमा रुझेरै भए पनि पूरा समय खेल हेरे । पानीका बाबजुत पनि आयोजकको अनुमानभन्दा बढी दर्शक रंगशालामा उपस्थित हुँदा आयोजक दंग थियो । झन्डै आठ हजार दर्शकले शनिबार सम्पन्न फाइनल खेल अवलोकन गरेको प्रतियोगिता आयोजक कमिटीले जानकारी दिएको छ । समापन समारोहका प्रमुख अतिथी एन्फा अध्यक्ष गणेश थापाले पनि दर्शकको उपस्थितिको खुलेर प्रशंसा गरे । मन्तव्यका क्रममा उनले पनि पानी परेका कारण यति दर्शक उपस्थित होलान् भन्ने आफूले नसोचेको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया