उपनिर्वाचन : समानुपातिक बन्दसूचीमा नाम भएकाले उम्मेदवार हुन नपाउने

काठमाडौं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको छ । कार्यक्रम अनुसार मिति २०८० चैत्र २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मिति २०८० चैत्र २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन कार्यक्रममा उल्लेख छ । सोही दिनको दिउँसो ३ बजे उपरान्त चैत्र २६ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी चैत्र २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

आयोगका अनुसार मिति २०८० चैत्र २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ, भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ । निर्वाचन कार्यक्रम अनुसार मिति २०८१ बैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उक्त बन्दसूचीबाट नाम हटेको अवस्थामा बाहेक यस उपनिर्वाचनमा उम्मेदवार हुन नपाउने कानूनी व्यवस्था रहेको अयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रतिक्रिया