वीरगञ्जमा विवाद समाधान गर्न सहमति

वीरगञ्ज । वीरगञ्जमा दुई समुदायबीच उत्पन्न विवाद समाधान गर्न पाँच बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले डाकेको सर्वदलीय बैठकमा सद्भाव कायम गर्ने लगायतका पाँच बुँदे सहमति भएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिएका छन् ।
सयौँ वर्षदेखि कायम रहेको दुई समुदाय बीचको एकतालाई अझ मजबुत गराई, विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्ने, एकअर्काको आस्था केन्द्र तथा धार्मिकस्थलहरूको सम्मान गर्दै त्यस्ता स्थानहरूमा नाराबाजी, जुलुस लगायतका विरोधका कार्यक्रम नगर्ने÷नगराउने, यस किसिमको गतिविधि गर्ने जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउने सहमति भएको हो ।

यस्तै तेस्रो नम्बरमा जिल्लाभित्र खुलारूपमा डिजे बजाउने र चर्को माइक बजाउने कार्य रोक्ने, लाठी, भाला, राँके जुलुस निकाल्ने लगायतका क्रियाकलाप गर्नेविरुद्ध कानुनी कारबाहीमा सबैले सहयोग गर्ने, चौथो नम्बरमा भने जिल्लाको शान्ति सुरक्षा र अमनचयनलाई खलल पार्ने किसिमका धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बिगार्ने एवं द्वन्द्वलाई उक्साउने प्रकारका गतिविधि गर्ने, धार्मिक साम्प्रदायिक ¥याली, जुलुस, बन्द हड्ताल लगायतका गतिविधिहरू कुनै पनि समुदाय संघसंस्थाहरूले नगर्ने सबै दलहरूले सहमति जनाएका छन् ।

सामाजिक सञ्जालमा कुनै जात धर्म वा समुदाय लक्षित गरी नकारात्मक कुराहरू पोस्ट गर्ने÷गराउनेलाई प्रशासनले कडा कारबाही गर्ने सहमति भएको प्रजिअ भुसालले बताए । सर्वदलीय बैठकमा सांसद प्रदीप यादव, वीरगञ्जका मेयर राजेशमान सिंह, मुस्लिम अगुवाहरू शशी कपुर मियाँ, तबरेज अहम्मद, जफर अन्सारीलगायत प्रहरी प्रमुख, सशस्त्र प्रमुख तथा सबै राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रतिक्रिया