तीन दिनदेखि बाटो मै सरस्वतीको मूर्ति, अवस्था तनाव ग्रस्त

रौतहट । जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ७ घिउरामा तीन दिनदेखि सरस्वतीको मूर्ति बाटो मै रहेको छ । बसन्तपञ्चमीको अवसरमा आयोजना गरिएको सरस्वती पूजा सम्पन्न भए पश्चात शुक्रबार मूर्ति सेलाउन डिजे बाजासहित सार्वजनिक बाटो भएर जान लाग्दा मस्जिदको अगाडी चर्को स्वरमा डिजे बजाएको भन्दै मुस्लिम समुदायका व्यक्तिहरुले अवरोध गरेपछि दुवै समुदायबीच विवाद सृजना भएको थियो ।

शनिबार बिहानदेखि रौतहट क्षेत्र नम्बर २ का निर्वाचित प्रतिनिधि सभा सदस्य किरणकुमार साहको नेतृत्वमा सुरक्षा निकायका प्रमुख, हिन्दु समुदाय तथा मुस्लिम समुदायका अगुवाहरुले छलफल गरि गरेको निर्णय कार्यन्वयन गराउन जाँदा मुस्लिम समुदायका व्यक्तिहरूले निर्णय प्रति असन्तुष्टी जनाउदै ढुंगामुढा गर्न लाग्दा स्थानीय प्रशासनले बेलुकीदेखि सो वडामा कर्फ्यू आदेश जारी गरेको छ ।

सार्वजनिक बाटो प्रयोग गर्दै डिजे बाजा लैजाने तथा पहिलादेखि मुर्ति सेलाउने कार्य हुँदै आएको बाटो भएर पोखरीमा मूर्ति सेलाउने दुवै पक्षको सहमति भएको थियो । ढुंगा प्रहार गर्दा स्थानीय २३ बार्षिय भोला ठाकुर भन्ने कार्तिकेश ठाकुर घाइते भएका थिए ।

शान्ति सुरक्षाको ध्यानमा राख्दै कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका छ । मुर्ति सेलाउने कार्यको लागि सामाजिक रुपमा पहल गरिए पनि मुस्लिम समुदायको अडानमा कायम नै रहेको बताइएको छ ।

मस्जिदको बाटो भएर मूर्ति लैजान नदिने अडान मुस्लिम समुदायको रहेको छ, भने सोहि बाटो प्रयोग गरि मुर्ति सेलाउने अडान हिन्दु समुदायको रहेको छ । कुनै किसिमको क्षति हुन नदिनको लागि सो वडामा व्यापक रुपमा नेपाल प्रहरी र सशास्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया