बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका– २४ हरपुरमा नयाँ उद्यमीको लागि आठदिने उद्यमशिलता विकास तालिम सुरु भएको छ ।
गरिबी निवारणसम्बन्धी लघु उद्यम विकास कार्यक्रमअन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकाको लघु उद्यम विकास शाखाको आयोजनामा नयाँ उद्यमीको लागि आठदिने उद्यमशिलता तालिम सुरु भएको हो । बिहीबार जीतपुरसिमरा उपमहानगरपालिकाको नगरउपप्रमुख भोलाप्रसाद अधिकारी र प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले संयुक्तरुपमा उक्त तालिमको उद्घाटन गरेका हुन् ।
लघु उद्यम विकास कार्यक्रमअन्तर्गत उद्यमशिलता अभिवृद्धि गर्ने उद्देश्यसँगै रोजगारी सृजना गर्ने र नयाँ उद्यमीका लागि आठदिने नयाँ उद्यमशिलता विकास तालिम सुरु भएको लघु उद्यम विकास शाखा प्रमुख दिपनारायण चौधरीले बताए ।
उक्त तालिमको उद्घाटन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले उद्यमशिलता विकास तालिमबाट स्वरोजगारसँगै रोजगारी सृजनामा केन्द्रित हुने बताए । उनले भने, ‘तालिम अवधिभर सहभागीले आफ्नो जिम्मेवारी लिनु भनेको स्वरोजगार बन्नु हो ।’ उनले उद्यमशिलता विकास क्षेत्रमा जीतपुरसिमरा उपमहानगरपालिका निरन्तर अगाडि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।
तालिममा जीतपुरसिमरा उपमहानगरपालिका–२४ हरपुरका ३० जना सहभागी रहेको लघु उद्यम विकास शाखा प्रमुख दिपनारायण चौधरीले बताए । व्यवसाय अवसरको पहिचान गर्ने, सफल उद्यमी कसरी बन्ने, व्यवसायको छ्नोट गर्ने व्यवसायिक खेल खेलाउने, व्यवसाय योजना बनाउने भन्ने बारेमा सहभागिहरुलाई प्रशिक्षण दिइने बताइएको छ ।
यस तालिममा तीन दिनको व्यवसाय सचेतना, चार दिनको व्यवसाय सुरु, एक दिनको लैंगिक समानता तथा सामाजिक समावेशीकरण तालिमको आयोजना गरिने भएको छ ।उक्त तालिम उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका– २४ का वडाध्यक्ष सुल्तान अन्सारीलगायत वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।
बारा
प्रतिक्रिया