जनकपुरधाम । सरकारी छाप दस्तखत लिखत कीर्ते मुद्दामा पुर्पक्षका लागि गत १४ महिनादेखि भैरहवा कारागारमा रहेका राजगुठी मटिहानीका मानमहन्थ जगरनाथ दास वैष्णव निर्दोष ठहर भएका छन् ।
जिल्ला अदालत रूपन्देहीले मानमहन्थ दासलाई बुधबार निर्दोष ठहर गरेको हो । जिल्ला अदालतका न्यायाधीश डा.श्रीप्रकाश उप्रेतीको इजलासले जिल्ला प्रशासन कार्यालय रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको सहीछाप किर्ते गरी रोक्का गरिएको बैंक खाता खुलाएको मुद्दामा दासमाथिको अभियोग दाबी नपुगेको भनी बुधबार फैसला सुनाइएको छ ।
यसअघि सोही मुद्दामा अभियोगपत्र दायर भएपछि अदालतले दासलाई गत २०७९ साल पुस महिनामा भैरहवा कारागार पठाएको थियो । महन्थ दासले रूपन्देहीको आफ्नो नाममा रहेको जग्गा बिक्री गरी खातामा ७० लाख रुपैयाँ राखेका थिए । जग्गा बिक्रीसम्बन्धी उजुरीका आधारमा छानबिनका लागि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले दासको खाता रोक्का गरेको अवस्थामा तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारीको नक्कली हस्ताक्षरका आधारमा खाता रोक्का फुकुवा गराई रकम झिकिएको थियो ।
महन्थ दासले फर्जी दस्खतबाट खाता फुकुवा र आफ्नो हस्ताक्षर रहेको चेकबाट आफ्ना चेलाहरू श्रवण यादव र उपेन्द्रकुमार साहले रकम निकासा गरेको भनी अदालतमा प्रतिरक्षा गरेका थिए । धनुषा निवासी यादव र साह अदालतमा हाजिर नभएको सो मुद्दामा दासका कानुन व्यवसायी रहेका अधिवक्ता विमल मिश्रले बताए ।
प्रतिक्रिया