बारा । बाराको पचरौता नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अंकसहित उतिर्ण गरेका छात्रलाई रु एक लाखको चेकसहित सम्मान गरेको छ । २०७९ सालको एसइई परीक्षामा प्राविधिकतर्फ जिल्लामै उत्कृष्ट अंक ल्याएको भन्दै पचरौता नगरपालिकाले प्रोत्साहनस्वरुप छात्र साहिल पटेललाई रु एक लाख नगदसहित सम्मान गरेको हो ।
बुधबार सरस्वती पूजाको अवसर पारेर बेनौलीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा छात्र पटेललाई पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह र उपप्रमुख नसिमा खातुनले संयुक्तरूपमा पुरस्कारस्वरुप एक लाखको चेक तथा सम्मानपत्र प्रदान गरेका हुन् ।
विद्यार्थीलाई सामुदायिक विद्यालयमा पढ्न अझ अभिप्रेरित गर्ने उद्देश्यले एसइईमा सबैभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई पुरस्कारको व्यवस्था गरिएको नगरप्रमुख सिंहले बताए ।
पचरौता नगरपालिकाले जेठमा एमबीबीएस अध्ययन गरिरहेका दुई छात्रछात्रालाई रु १०–१० लाखको चेक हस्तान्तरण गरेको थियो भने रेडियोग्राफर पढ्दै गरेकी प्रसंशाकुमारी यादवलाई अध्ययन छात्रवृत्ति बापत पाँच लाख प्रदान गरेका थिए । चेक हस्तान्तरण कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष लक्ष्मी यादव, शिक्षा संयोजक महेशकुमार सिंहलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया