मधेसीलाई ‘भैया’ भन्ने बस चालक र सहचालकविरुद्ध मुद्दा दायर

जनकपुरधाम । काठमाडौंमा पत्रकार राजकरण महतोलाई ‘भैया’ भन्दै दुव्र्यवहार गर्ने बसचालक र सहचालकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा आइतबार चालक र सहचालक उपर जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुर मुद्दा दायर गरेको हो ।

बसका सहचालक धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१० स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बस्ने २४ वर्षीय विक्रम कार्की र चालक धादिङ घर भई हाल काठमाडौं बस्ने २५ वर्षीय शेकबहादुर पौडेलमाथि मुद्दा दायर भएको हो । गत माघ ७ गते काठमाडौंको तीनकुनेमा पत्रकार महतोलाई ‘भैया’ भन्दै बा २ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायातका चालक तथा सहचालकले दुव्र्यवहार गरेका थिए ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम चालक र सहचालकविरुद्ध दर्ता भएको मुद्दा पत्रकार राजकरण महतोको जाहेरीले नेपाल सरकार वादी रहेको छ । निजप्रतिवादीहरू उपर मुलुकी अपराध संहिता १६० बमोजिम कारबाही दिलाई पाउँ भनी जाहेरी दर्खास्त परेको थियो ।

दर्ता भएको मुद्दामा प्रहरीको घटना मुचुल्कामा सहचालक प्रतिवादी विक्रम कार्कीको बयानमा आफूले दुव्र्यवहार गरेको झँै झगडा गरेको स्वीकार गरेका छन् । चालक शेक बहादुरले पनि सहचालकले गरेको दुव्र्यवहार घटनामा आफूले समर्थन जनाएको स्वीकारेको प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

भेदभाव तथा अपमानजनक व्यवहार गरेको कसुर पुष्टि हुने भएकाले मुलुकी संहिता २०७४ को दफा १६६ (१) बमोजिमको कसुरमा दफा १६६ को उपदफा (२) सजाय माग गरेको छ । यो कसुरमा तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना वा दुबै कारबाही हुन सक्ने कानुनी व्यवस्था छ ।

अन्नपूर्ण पोस्टका सिनियर करेस्पोन्डेन्ट महतोलाई सडक किनारमा हिँडिरहेको अवस्थामा माघ ७ गते तीनकुनेमा बसचालक तथा सहचालकले साम्प्रदायिक सद्भाव बिथोल्ने भाषामा दुव्र्यवहार गर्नुका साथै कुटपिटको प्रयास गरेका थिए । दुबै जनालाई प्रहरीले माघ ११ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया