धनुषामा मूर्तिकारहरु सरस्वतीको प्रतिमा बनाउनमा व्यस्त

धनुषा । धनुषाका मूर्तिकारहरु सरस्वती पूजाका लागि प्रतिमा बनाउनमा ब्यस्त देखिएका छन् । मूर्तिकारलाई विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन भ्याइ नभ्याइ भएको छ । सरस्वती पूजा फाल्गुन २ गते नजिकिँदै जाँदा विगत वर्ष जस्तै उनीहरू सरस्वतीको प्रतिमा बनाउन व्यस्त भएका हुन् । जनकपुरधाम उपमहानगरपालिका–४ मुर्ली चौकका रंजित पण्डितले फाल्गुन २ सम्म ३० थान प्रतिमा बनाइसक्ने योजना बनाएका छन् । उनले माघ १५ देखि काम गर्न लागेका हुन् ।

२० वर्षदेखि मूर्ति बनाउँदै आएका उनले यो वर्ष मूर्ति बेचेर एक लाख रुपैयाँ कमाउने लक्ष्य राखेका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, धनुषा, सबैला र तीनकौरियाका विभिन्न ठाउँमा मूर्तिकार सरस्वतीका कलात्मक प्रतिमा बनाउन जुटिरहेका छन् । सरस्वती पूजामा मूर्तिको प्रयोग हुने भएकाले त्यसलाई सहज बनाउने र अर्थोपार्जन गर्ने उद्देश्यले माटोबाट सरस्वती माताका कलात्मक प्रतिमा बनाउन थालेको सुकदेब पण्डितले बताए ।

त्यसैगरी क्षिरेश्वरकै अशोख पण्डितले आफूहरूले सिजनअनुसार मूर्ति बनाउने गरेको बताए । क्याम्पस, विद्यालय र शैक्षिक प्रतिष्ठानमा सरस्वतीको मूर्ति राखेर सरस्वती पूजा आराधना गर्ने चलन छ । एउटा प्रतिमा बनाउन पाँचदेखि दश दिनसम्म लाग्छ । एउटा प्रतिमा एक् हजारदेखि १० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

प्रतिक्रिया