हरिवनमा ड्रोनमार्फत नापजाँच कार्यको सुभारम्भ

लालबन्दी । सर्लाहीको हरिवन नगरपालिका– १ मा रहेका भूमिहिन सुकुम्बासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जा (लालपुर्जा) प्रदान गर्नका लागि शनिबारबाट ड्रोन मार्फत नापजाँच कार्यको सुभारम्भ भएको छ ।

हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले वडा नम्बर १ को कोठीखोला, सिकारी टोलबाट ड्रोन उडाएर नापजाँच कार्यको सुभारम्भ गरेका छन् । सो कार्यक्रमको उद्घाटन सभामा बोल्दै बुढाथोकीले दुई महिना भित्रमा हरिवन नगरपालिका भित्रका ११ वटै वडामा नापजाँच गर्ने काम काम सकिने बताए ।

ड्रोनको माध्यमबाट नापजाँच गर्दा जनशक्ति तथा समयको पनि बचत हुने भएको हुँदा चाँडै नै भूमिहिन दलित र सुकुम्बासीहरुलाई लालपुर्जा प्रदान गर्न सजिलो हुने मेयर बुढाथोकीको भनाइ छ । ड्रोन तथा डिजिपिएस प्रणालीको विधिबाट काम गर्दा अरुभन्दा १० गुणा बढी प्रभाबकारी हुने हरिवन नगरपालि अन्तर्गत भूमि सेवा केन्द्रका प्रमुख सुवाश कुशवाहाले जानकारी दिए ।

वडा नम्बर एकका विभिन्न स्थानहरुको अभिलेख तयार गरि हरिवन नापी कार्यालय र मालपोत कार्यालयको समन्वयमा राष्ट्रिय भूमि आयोग सर्लाहीमा पेश गरिने र भूमिहिन तथा सुकुम्बासीहरुलाई छिट्टै जग्गाको धनी पुर्जा प्रदान गरिने वडा नम्बर १ का वडाध्यक्ष टम बहादुर घिसिङको भनाइ छ ।

हरिवन नगरपालिका भरी भूमिहिन सुकुम्बासी–१, ०२०, भूमिहिन दलित–२९१ जना र अव्यवस्थित बसोबासी–२,५२१ जनाको फारम हालसम्म अनलाइनमा प्रविष्ट गरिसकेको कुशवाहाले जानकारी दिए । राष्ट्रिय भूमि अयोगको कार्यविधि अनुसार डिजिपिएस र ड्रोन प्रणालीको प्रविधिबाट काम थालनी गरिएको प्राविधिक टोलीका सदस्य दिपेश कुमार लोप्चनको भनाइ छ ।

मेयर बुढाथोकीले सुकुम्बासीको पक्षमा छिटोछरितो ढंगको आधुनिक माध्यमबाट काम गरेको भन्दै स्थानीय राम तामाङ (गोले) लगायत स्थानीयले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया