सरस्वतीको प्रतिमा बनाउन व्यस्त मूर्तिकार

पर्सा । विद्याकी देवी सरस्वती पूजाको लागि मूर्तिकारहरू सरस्वती माताको मूर्ति बनाउन व्यस्त भएका छन् ।

पर्साको धोबिनी गाउँपालिका–४ बखरीका मूर्तिकार सुरेन्द्र बैठाले विगत १५ वर्षदेखि मूर्ति बनाउने काम गर्दै आएका छन् । ‘सिजनअनुसार ठाउँठाउँमा घुमेर मूर्ति बनाउँछु’, मूर्तिकार बैठाले भने । कक्षा ८ मा पढ्दै गर्दा मूर्ति बनाउने रुची जागेपछि १२ कक्षासम्म पढेर यसैलाई मुख्य पेसा बनाएका उनले यसैबाट परिवार पाल्दै आएको बताए । सरस्वती पूजाको लागि पाँच हजारदेखि १५ हजारसम्मको मूर्ति बनाएर बिक्री वितरण गरेको मूर्तिकार बैठाले जानकारी दिए । सिजनअनुसार काम हुने उनले सुनाए ।

सिजनमा सरस्वती पूजा, गणेश पूजा, दुर्गा पूजा, विश्वकर्मा पूजा र कृष्ण जन्माष्टमीको समयमा मूर्तिको माग हुने गरेको उनले बताए । यस्तै महायज्ञहरूमा विभिन्न किसिमका मूर्ति बनाउन महायज्ञमा बोलाउने गरेको र गएर मूर्ति बनाउने काम गर्ने गरेको उनले बताए । महायज्ञहरूमा बढी पैसा दिएमा इलेक्ट्रिक मेसिनबाट चल्ने मूर्ति बनाउने गरेको समेत उनले बताए । प्रत्येक वर्ष सरस्वती माताको ५० वटा मूर्ति बेचेर दुई लाखभन्दा बढी आम्दानी गर्ने गरेको उनले सुनाए ।

सरस्वती माताको मूर्ति एक्लैले बनाउन नसकिने भएकाले आफूलाई सघाउनका लागि तीन जना सहकर्मीसमेत राखेको उनले बताए । सरस्वतीको एउटा मूर्ति बनाउन तीनदेखि चार जना लाग्छ भने महायज्ञका मूर्ति बनाउन १० जना सहकर्मी राखेर १० दिनदेखि १५ दिनसम्म लाग्ने उनले बताए । माटो, काठ, रंग, कपडा तथा परालको प्रयोगबाट बनाइने मूर्ति पूर्णरूपमा सुक्न र निर्माण सम्पन्न हुन ५ देखि १० दिनसम्म लाग्ने गर्दछ ।

पुख्र्यौली पेसा लोभ हुँदै गइरहेको अवस्थामा स्थानीय सरकारले पनि उनीहरूको सीपको जगेर्ना एवं संरक्षण गर्नुपर्ने देखिएको छ । सरकारी निकायले युवाहरूलाई मूर्तिकारलगायत अन्य पेसाको तालिम दिएर रोजगारीमूलक बनाएमा युवाहरू विदेश जानबाट रोकिन्थ्यो । युवाहरूले यही रोजगारी गरे आफ्नो जीविकोपार्जन गर्न सलिलो हुने बैठाले बताए ।

प्रतिक्रिया