धनुषा । मधेस प्रदेशका वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मी र चुरे तथा वनजंगल संरक्षण अभियानीबीच भएको छलफल निष्कर्षविहीन बनेको छ ।
मन्त्रालयमा भएको मन्त्री कुर्मी र अभियानका संयोजक सुनीलकुमार यादवबीच भएको छलफल निष्कर्षमा पुग्न नसकी टुंगिएको छ । अभियानका संयोजक यादवले चुरे तथा वनजंगल संरक्षणका लागि प्रस्तुत गरेको पाँच वटा बुँदामाथि मन्त्री कुर्मीले सकारात्मक रहेको बताउँदै माग गरिएका कुराहरू पूरा गर्नका लागि आफूलाई समय चाहिने भनेपछि अभियानी यादव असन्तुष्ट बन्दै छलफलबाट बाहिरिएको अभियानी चन्द्रकिशोर यादवले बताएका छन् ।
यादवका अनुसार मन्त्री कुर्मीद्वारा प्रस्तुत गरिएको बुँदामा सकारात्मक देखिए पनि अभियानले माग गरेको छानविन समिति गठनका लागि समय माग गरेपछि छलफल निष्कर्षविहीन बनेको बताए । चुरे तथा वनजंगल संरक्षण अभियानले एक हप्ता पहिले मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाउँदै मागहरू पूरा गर्न आग्रह गरेका थिए ।
ज्ञापनपत्रमा यसभन्दा पहिले यसै मन्त्रालयले गठन गरेको छानबिन समितिले गलत प्रतिवेदन प्रस्तुत गरेको र सोको प्रमाण डिभिजन वन कार्यालय सिरहाले दिइसकेकाले गलत प्रतिवेदन पेस गर्नेमाथि छानबिन समिति गठन गरी कारबाही प्रक्रियामा लग्नुपर्ने, सरुवा वढुवामा भएको भ्रष्टाचारको विषयमा छानविन गर्नुपर्ने र सिर्सिया नदीलाई फोहर बनाउनेलाई कारवाही गर्नुपर्ने, लगायतको माग गरिएको थियो ।
आइतबार सोही विषयमा मन्त्री कुर्मी र अभियानका संयोजक यादवबीच छलफल भएको छ । मन्त्री कुर्मीले चुरे तथा वनजंगल संरक्षण अभियानले उठान गरेका मुद्दाहरू उचित नै रहेको बताए । यस मुद्दाप्रति आफूहरू संवेदनशील नै रहेको र मुद्दा सम्वोधनका लागि आफूले पहल गर्ने उनले बताए ।
आफूलाई समय दिन भनिएको तर कति समय दिन भन्दा भन्न नचाहेकोले आफू छलफलबाट असन्तुष्ट रहेको संयोजक यादवले बताए । उनले भने, ‘मन्त्रीजीले आफूहरूको मागको विषयमा सकारात्मक भए पनि छानबिन समिति गठन गर्नेतर्फ अग्रसर देखिएनन् ।’ अब पनि मन्त्रालय गम्भीर नभए पुनः सडक आन्दोलन गर्न बाध्य हुने संयोजक यादवले चेतावनी दिए ।
प्रतिक्रिया