काठमाडौं । रोटरी क्लब अफ नागार्जुन तथा राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा देशका विभिन्न अस्पताल, स्वास्थ्य संस्था तथा शारीरिक अपांगता भएका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा ह्विलचियर वितरण गरिएको छ । सामाजिक उत्तरदायित्वअन्र्तगत यो ह्विलचियर वितरण गरिएको रोटरी क्लब अफ नागार्जुनका सचिव फणिन्द्रराज पाण्डेले बताए । यसै क्रममा काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित शारीरिक अपांगता भएका विद्यार्थी अध्ययन गर्ने खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा एक कार्यक्रम गरी १० वटा ह्विलचियर वितरण गरिएको छ । उक्त ह्विलचियर रोटरी क्लब अफ नागार्जुनका अध्यक्ष प्रकाश डोटेल तथा सचिव फणिन्द्रराज पाण्डेले विद्यालयलाई हस्तान्तरण गरेका थिए ।
उक्त ह्विलचियर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश अर्याल, गोनपा–६ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितका सदस्य नवराज लामाको रोहबरमा विद्यालयका प्रधानाध्यापक राघवप्रसाद दवाडीलाई हस्तान्तरण गरिएको थियो । प्राप्त ह्विलचियर सहयोगीकै हातबाट विद्यालयमा अध्ययनरत शारीरिक अपांगता भएका विद्यार्थीलाई वितरणसमेत गरिएको थियो ।
सचिव फणिन्द्रराज पाण्डेले यहाँलगायत देशका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रमा पनि ह्विलचियर वितरण गरिएको बताए । जसमा तनहुँमा ३१, चितवनमा ९, गोरखामा १३ र काठमाडौैंमा १२ गरी ६५ वटा ह्विलचियर वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश अर्याल तथा गोनपा–६ का वडाध्यक्ष नवराज लामाले यस्ता सहयोगले आवश्यक भएका मानिसको जीवनयापनमा सहयोग पुग्नुका साथै दैनिकी जीवन सहज हुने बताए भने विद्यालयका प्रअ राघवप्रसाद दवाडीले यस्ता सहयोग निरन्तर हुनेमा विश्वास व्यक्त गरे । उक्त अवसरमा विद्यालका शिक्षक, विद्यार्थीको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया