धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक, चिकित्सकहरूले अन्तर्वार्ता सुचारुको माग गर्दै आकस्मिक सेवाबाहेक अन्य सेवाहरू बन्द गरेसँगै बिरामीहरू अलपत्र परेका छन् । बिपी प्रतिष्ठानमा उपचारका लागि पुगेका बिरामीहरू ओपिडीको टिकट काउन्टर नखुलेपछि बिरामीहरू अलपत्र परेका छन् भने फलोअपमा बोलाएको बिरामीहरू समेत अलपत्र परेका हुन् । बढुवा प्रक्रिया सुचारु गर्न गत कात्तिक २० गते धरान उपमहानगरपालिकाको नगरप्रमुख हर्कराज राई तथा विभिन्न राजनीतिक दलहरूको रोहबरमा पुस २ गते सुरु गरी १५ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरेर लोक सेवा आयोग र स्वास्थ्य मन्त्रीको सहमति लिई बाँकी रहेको अन्तर्वार्ता सकाउने सहमति भएको थियो । उक्त समय नाघिसक्दा समेत बढुवा प्रक्रिया सुचारु नभएपछि बिपी प्रतिष्ठान अस्पतालमा आकस्मिक सेवा बाहेकका अन्य सेवाहरू बन्दको आह्वान गरी चिकित्सक, शिक्षक र कर्मचारीहरू पुनः आन्दोलनमा होमिएका छन् । जसको असर उपचारमा आएका नयाँ तथा फलोअपमा रहेको बिरामीहरू तथा अध्ययनरत विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा असर परेको छ ।
अस्पतालमा टिकटको लागि बिहानैदेखि लाइन लागे पनि ओपिडीको काउन्टर नखुलेपछि बिरामीहरू निराश भएर घर फर्किन बाध्य भएका छन् । तथापि केही टाढाबाट आएका बिरामीहरू भने खुल्ने आसमा बसिरहेका थिए । उपचारको लागि टाढाबाट आएकाले फर्किएर गइहाल्न पनि कता जानु ? कहाँ जानु ? भनी अलमल परेर बसेको पथरीबाट आएका बलभद्र मगरले बताए । चेकअपका लागि डाक्टरले नै मंगलबार बोलाएकोले यस्तो चिसो मौसममा पनि बिहानै पथरीबाट आएको बिरामी मगरले बताए ।
आफू मानसिक बिरामी रहेकोले चेकअपको समयमा जहिले पनि डाक्टरले अब रोगको अवस्था के, कस्तो छ ? के, कुन दुवै घटाउनुपर्ने हो वा डोज बढाउनुपर्ने हो ? बताउने गरेकाले महत्वपूर्ण रहेको उपचारमा आएका बिरामी मगरले बताए । अब अन्य अस्पताल गएर उपचार गराउँदासमेत सुरुदेखि पुनः उपचार गराउनुपर्ने जसले गर्दा पैसा, समय त खर्च हुन्छ नै रोग पनि त्यतिन्जेल बढेर जाने भएकोले झनै मानसिक तनावमा परेको उनको श्रीमतीले बताइन् । यसरी आन्दोलनको नाममा बिरामीहरूलाई सास्ती दिनु गलत रहेको र आफूहरू अन्यायमा परेको बताए ।
बिहान ८ बजे नै आएर लाइन बसेको तर ओपिडी काउन्टर नै खुलेन, चिकित्सकहरूको आन्दोलन हल्ला रहेछ पहिला नै थाहा भएको भए त्यति टाढाबाट जाडोमा पतिलाई लिएर आउने नै थिइनँ उनले बताइन् । उनीजस्तै बिहानै टाढाबाट आएका सयौँ बिरामीहरू शिक्षक, कर्मचारी र चिकित्सक आन्दोलनको कारण पीडित भएका छन् ।
बिपी अस्पतालजस्तो ठुलो अस्पतालमा दैनिक हजारौँको संख्यामा बिरामीहरूको उपचार हुने ठाउँमा किन यस्तो भएको हो ? हामी आमनागरिकहरूलाई नै किन सधैँ दुःख दिएको हो ? भनी धरान–११ निवासी करुण राईले दुःख व्यक्त गरे । यसैगरी सिराहाबाट पेटको समस्या लिएर आएका विकास मण्डल अस्पताल खुल्ने आसमा आफू बसिरहेको बताए । यहीँ उपचार गराउने भनेर आएकोले अन्य जाने खर्च पनि धेरै नभएको र उपचार नगरी घर पनि जान नसक्ने भएकोले हाल अस्पताल परिसरमै बसिरहेको बताए । यसरी चिकित्सक आन्दोलनको नाममा बिरामीहरूलाई दुःख दिनु, सास्ती दिनु राम्रो नभएको उनले बताए ।
पटकपटकको आन्दोलनले बिपी प्रतिष्ठान धराशायी बन्दै गएको छ । बिरामीहरू निराशा भएर घर फर्किन बाध्य हुनु दुःखद् कुरा रहेको अधिवक्ता दीपककुमार बुढाथोकीले बताए । स्वास्थ्य जस्तो कुरामा बिपी प्रतिष्ठान, चिकित्सक र सम्बन्धित निकायहरूले गम्भीर रूपमा लिई अगाडि बढेर जान मनासिव रहेको उनले बताए । आन्दोलनले उपचार सेवामा मात्र नभई विद्यार्थीहरूको पढाइमा समेत अवरुद्ध भइरहेको छ यसले गर्दा बिपी प्रतिष्ठान दिनानुदिन धराशायी बन्दै गएको छ । समयमै सम्बन्धित निकायले निष्कर्ष निकाल्न जरुरी रहेको अधिवक्ता बुढाथोकीले बताए ।
स्वास्थ्यमन्त्री बस्नेतलाई मेयर हर्कको पत्र
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्राडा प्रह्लाद कार्कीलाई उपस्थित गराइदिन माग गरेका छन् । उनले मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई पत्र लेख्दै यस्तो माग गरेका हुन् ।
मेयर साम्पाङले उपकुलपति कार्कीले कार्यकारिणी समितिको बैठक बोलाउन नसकेको, शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधन गर्नुपर्नेमा लुकेर बसेको पनि पत्रमा उल्लेख गरेका छन् । त्यस्तै प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई पनि जिम्मेवारीबाट हटाउने अराजक गतिविधि गरेको मेयर सम्पाङको आरोप छ ।
‘प्रतिष्ठानमा हुँदै गरेको पठनपाठन र परीक्षासमेत ठप्प भइरहेको हुँदा तत्काल प्रतिष्ठानको कामयमुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीलाई तुरुन्त उपस्थित गराई हाल देखिएको समस्याको हलका लागि आफ्नो जिम्मेवारी सम्हाली अस्पताललाई निकास दिनका लागि आवश्यक कारबाही अघि बढाइदिन अनुरोध छ,’ साम्पाङले मन्त्री बस्नेतलाई पठाएको पत्रमा भनेका छन् ।
प्रतिक्रिया