तलबका लागि पाँच दिनदेखि धर्नामा शिक्षक

गौर । रौतहटको फतुवाविजयपुर नगरपालिकामा जनप्रतिनिधिबीच जुुँगाको लडाइँ चलिरहेको छ । कार्यवाहक नगरप्रमुुख अम्बेया खातुन र वडा अध्यक्षहरू बीचको विवाद चरम उत्कर्षमा पुुगेको छ । उनीहरू बीचको विवादले नगरसभा अन्यौल र कामकाज अस्तव्यस्त बनेको छ ।

कार्यपालिका बैठकका लागि तीनपटकसम्म लिखित सूचना पठाउँदासमेत बहुुमत पक्षका वडा अध्यक्षहरू पत्रसमेत बुुझ्न मानेका छैनन् । जनप्रतिनिधिहरू कार्यपालिका बैठकमा आउनै मानेका छैनन् । दुवै पक्षबीच समन्वय हुन नसक्दा नगरपालिका लथालिंग बनेको छ ।

नगरसभा हुन नसक्दा कार्यरत शिक्षक कर्मचारीले तलब भत्ता पाएका छैनन् । उनीहरू पाँच दिनदेखि लगातार धर्नामा बसेका छन् । नगरपालिका कार्यालय गेटको अगाडि धर्ना दिइरहेका छन् । गत बुधबारदेखि सुरु भएको धर्ना आइतबार पाँच दिन पुुगेको छ । आफूहरूको मागको सुनवाइ नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् उनीहरूले ।

नेपाल शिक्षक संघ फतुवा बिजयपुर नगर अध्यक्ष राधेश्याम यादवले आइतबार धर्ना कार्यक्रमपछि कार्यवाहक नगरप्रमुख अम्बेया खातुनलाई ज्ञापनपत्र बुुझाउँदै यस्तो चेतावनी दिएका हुन् । तलब नपाएसम्म आफूहरूको आन्दोलन जारी रहने श्री मावि टेंगहाका प्रधानाध्यापक अनिल यादवले बताए ।

यसअघि शिक्षक कर्मचारीहरूले तलबका लागि नगरपालिकाको कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । नगरपालिकाका तत्कालीन नगरप्रमुख गोपाल राय यादव राजस्वको रकम हिनामिना गरेको आरोपमा निलम्बनमा छन् । उनको मुद्दा चलिरहेको छ ।

प्रतिक्रिया