रिग्पा उपचार प्रणाली सरकारी अस्पतालमा बिस्तार हुने

काठमाडौं । बुद्धकालीन उपचार पद्धतिका रूपमा हाल प्रचलनमा रहेको सोवा रिग्पा उपचार प्रणालीलाई सरकारी अस्पतालमा पनि बिस्तार गर्न र यससम्बन्धी शिक्षालाई अन्य चिकित्साजस्तै दर्ता गराउन सरोकारवाला निकायका प्रतिनिधि सहमत भएका छन् ।

सोवा रिग्पा एसोसिएसन नेपाल र अडारा विकासले संयुक्तरूपमा आयोजनामा बिहीबार भएको नेपालमा सोवा रिग्पा चिकित्सा पद्धतिको अभ्यास, नीति र भावी योजनाका विषयक अन्तत्र्रिmयामा सहभागी सरकारी र प्राज्ञिक निकायका प्रतिनिधि सोवा रिग्पा चिकित्सा शिक्षाको नीतिमा भएका समस्याको समाधान गरी यस परम्परागत उपचार प्रणनलीलाई छिटोभन्दा छिटो मूल प्रवाहमा ल्याउन सहमत भएका हुन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.दिपेन्द्ररमण सिंहले हिमालयन जडीबुटीमा आधारित विश्वकै पुरानो चिकित्सा पद्धति सोवा रिग्पाको शिक्षा तथा उपचार प्रणालीलाई सोवा रोग्पा उपचार पद्धतिलाई मूल प्रवाहमा ल्याउन सकिएमा हिमाली क्षेत्रलाई स्वास्थ्य पर्यटनको रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गरे । उनले सुखी र समृद्धिका लागि स्वाथ्य आवश्यक हुने हुँदा देशका सबै मेडिकल कलेजहरूमा सोवा रिग्पाको शिक्षा अध्ययन गर्न सरकारका तर्फबाट आवश्यक काम भइरहेको जानकारी दिए । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.कृष्ण पौडेलले सोवा रिग्पालाई वैकल्पिक उपचार पद्धति नभई मौलिक उपचार पद्धति भएकाले यो उपचार पद्धति र यस क्षेत्रको अध्ययन अध्यापनमा देखिएको समस्या समाधानका लागि मन्त्रालय सकारात्मक रूपमा लागिपरेको बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन उकेशराज भुजुले विश्वविद्यालयको सम्बन्धनमा सोवा रिग्पा इन्टरनेसनल कलेजबाट पहिलो ब्याचका स्नातक तहका १७ जना विद्यार्थी दीक्षित भइसकेको र अन्य ब्याचमा पनि विद्यार्थी पढिरहेकाले उनीहरूलाई परिषद्मा दर्ताको कानुनी व्यवस्था हुनुपर्नेमा जोड दिए । सो विश्वविद्यालयका प्राज्ञ सदस्य कपिल लामाले पनि सोवा रिग्पामा उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई दर्ता हुने अवसरबाट वञ्चित गरिन नहुने बताए । नेपाल स्वास्थ्य व्यवसायी परिषदका अध्यक्ष सुवोध शर्माले सोवा रिग्पामा स्नातक उत्तीर्ण विद्यार्थीलाई छिटोभन्दा छिटो दर्ताको प्रक्रियामा ल्याउन पहल गरिनेछ भने ।

त्यस्तै अडारा विकासका राष्ट्रिय निर्देशक प्रल्हाद ढकालले देशको हिमाली क्षेत्रमा अहिले पनि सोवा रिग्पा पद्धतिबाट धेरै बिरामीहरू उचार भइरहेको र यसप्रति जनविश्वास रहेकाले यसलाई राज्यले वैकल्पिक उपचार पद्दतिको रूपमा विकास गर्नुपर्नेमा जोड दिए । नरदेवी अस्पतालका निमित्त निर्देशकसमेत रहेका आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा श्यामबाबु यादवले सोवा रिग्पाका विषय अध्ययन गरेका विद्यार्थीलाई स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता गराउन सकिने र यस विषयलाई चिकित्सा शिक्षा आयोगले पनि अन्य विषयलाई जस्तै मान्यता दिनुपर्ने धारणा राखे ।

सो अवसरमा स्वास्थ्य मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाका प्रमुख डा.पुष्पराज पौडेल, सिंहदरबार वैद्यखानाका पूर्वअध्यक्ष डा.बाबुराजा अमात्य र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका शाखा प्रमुख डा.माधवप्रसाद लम्सालले भारत, चीन र भुटानलगायत धेरै देशहरूले यो पद्धतिलाई मान्यता दिएको हुँदा नेपालले पनि यसतर्फ तत्कालै कदम चाल्न ढिला गर्न नहुने सुझाव दिऐ ।
राससका सम्पादक एवं सोवारिग्पा उपचार पद्दति नामक पुस्तकका लेखक कृष्ण अधिकारीले भगवान बुद्धद्वारा प्रतिपादित यस उपचार पद्दतिलाई राज्यले ‘ब्रान्डिङ’ गर्न सक्नुपर्ने बताए भने स्वास्थ्य पत्रकार प्रवीण ढकालले सोवा रिग्पा उपचार पद्धतिका बारेमा जनसाधारणमा जानकारी पु¥याउनुपर्ने खाँचो औँल्याए ।
कार्यक्रमका सभापति सोवा रिग्पा एसोसिएसनका अध्यक्ष डा.तेन्जिङ धार्के गुरुङले यो उपचार पद्धतिको विकास र विस्तार गर्न सकिए जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न र मुलुकको अर्थतन्त्रमा पनि सहयोग पुग्ने बताए । एसोसिएसनकी सदस्य डा.पेम्बा डोल्मा लामाले सोवा रिग्पा चिकित्सा पद्धतिको अवस्था र नीतिगत व्यवस्था र चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया