कपिलवस्तु । स्वर्गीय पूर्वराजा वीरेन्द्र बिरबिक्रम शाहको जन्मोत्सवको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका– ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वी नारायण शाहको जंगी शालिक अनावरण गरेका छन् । पश्चिमी जिल्लाहरुको भ्रमणमा रहेको उनले शिवराजन नगरपालिकाकाद्वारा २५ लाखको लागतमा निर्माण गरिएको शालिक रातो ब्यानर उघारेर अनावरण गरेका हुन् ।
सो क्रममा पूर्वराजा शाहले त्यहीँ झन्डोत्तोलन समेत गरेका थिए । भैरहवामा रहेका शाह आफ्ना नाति ह्रदेन्द्रलाई समेतसँगै ल्याएका थिए । भैरहवादेखि बहादुरगञ्जसम्मको हुलाकी बाटो हुँदै उनी लगभग दिउँसो ३ बजे तिर खैरेन्द्रपुर पुगेका थिए । खरैन्द्रपुरस्थित बालहंस सांगवेद गुरुकुलमा रहेको स्वर्णद्वारा आश्रममा पूजापाठपछि उनले शालिक अनावरण गरेका हुन् ।
पूजापाठका क्रममा बटुकहरुले स्वस्ति वाचन गरेका थिए । पूर्वराजा शाहले नागरिक अभिनन्दसमेत ग्रहण गरेका थिए । पूर्वराजा र ह्रदेन्द्रलाई हेर्न खैरेन्द्रपुर चोकमा जनताको भीड लागेको थियो । आधा घण्टाको बसाइपछि उनी भैरहवा फर्केका थिए । नगरपालिकाले आयोजना गरे पनि सो कार्यक्रममा नेपाली कांग्रेस, एमाले माओवादी, जसपा नेपालका तर्फबाट निर्वाचित कोही पनि जनप्रतिनिधि सहभागी थिएनन् ।
राप्रपाको तर्फबाट मेयरमा निर्वाचित अजय थापाको विशेष पहलमा त्यहाँ पृथ्वी नारायण शाहको शालिक निर्माण भएको हो । कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई हेर्न खचाखच जनता भरिएको थियो भने राजतन्त्रको पक्षमा नाराबाजीसमेत गरिएको थियो ।
मेयर थापाले पूर्वराजा वीरेन्द्र शाहको जन्मोत्सवको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको करकमलबाट शालिक शिलान्यास हुन् आफैँमा ऐतिहासिक क्षण रहेको बताए । उनले बाइसे चौबिसे राज्यलाई एकीकरण गरी नयाँ नेपाल निर्माण गरेको पृथ्वी नारायण शाहलाई यो विशेष अवसरमा सम्मान दिन पाउँदा आफूलाई निकै खुसी लागेको बताए ।
प्रतिक्रिया