जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिकामा आन्दोलनमा रहेकी बालबालिका कक्षाकी शिक्षिकाहरूलाई नगरपालिकाले फर्जी शिक्षिकाहरू रहेको बताएको छ । सहिदनगर नगरपालिकाको शिक्षा शाखाले दिएको एक सूचीमा नगरपालिकामा १६ जना शिक्षिकाको कागजातहरू फर्जी रहेको बताएको छ । उनीहरूले फर्जी कागज पेस गरेकोले पुनः हाजिरी नगराएको शिक्षा शाखाका प्रमुख विश्वनाथ यादवले बताए ।
यादवका अनुसार जिल्ला शिक्षा समन्वय इकाई धनुषामा समेत १६ जनाको सत्यपान गरी पठाइदिन पटकपटक आग्रह गरे पनि बेवास्ता गर्दा उनीहरूलाई पुनःस्थापन गर्न ढिलाइ भएको बताए । नगरपालिकामा पेस भएको कागजातहरू फोटोकपी भएको र सक्कली ल्याउनका लागि पटकपटक आग्रह गर्दा पनि ल्याउन नसक्दा सेवासुविधा नदिएको बताए ।
सोही क्रममा नगरपालिकाका नगरप्रमुख दिनेशप्रसाद यादवले समेत पत्रकार सम्मेलन गरी १६ जना शिक्षिकालाई बिनाकागजपत्रकै अधारमा नियुक्ति गरिएको देखिँदा हटाइएको बताए । उनले पूर्व मेयरको पालामा आंशिक कागजातहरू मात्र पेस गरी नियुक्ति गरिएको देखिएकाले महालेखा परीक्षकको कार्यालयले बेरुजु गर्न थालेपछि उनीहरूलाई कागजात माग गरेको बताए ।
उनले भने, ‘हामीले सक्कल कागजात माग गरेका छौँ, दिइरहेको छैनन्, हामीले शिक्षा कार्यालयबाट पनि सत्यपान गरी पठाइदिन भनेका छौँ, तर अझै कागजात यकिन गरी नपठाउँदा सेवासुविधा र स्थापना रोकिएको हो । यति मात्र हो ।’
यता, सहिदनगरको पीडित शिक्षक कर्मचारी संघर्ष समितिले आन्दोलनको चेतावनी दिएको छ । समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै केही शिक्षिकाहरूलाई पूर्वाग्रह रूपमा विद्यालयमा स्थापना गरेको र बाँकीलाई पूर्वाग्रह रूपले नै नराखेको भन्दै आन्दोलनको चेतावनी दिएका हुन् ।
उनीहरूले १६ जना शिक्षिका बिना कोटाकै नियुक्ती भएको भनेर ठहर गरेकोप्रति ध्यानाकर्षण गर्दै सो मध्ये दुई जनालाई विभिन्न विद्यालयमा पदस्थापना गरेको विज्ञप्तिमा उल्लेख छ । सोही क्रममा शिक्षा प्रमुख, नगरप्रमुखले विभेद गरेको भन्दै आन्दोलनको चेतावनी दिएका हुन् ।
प्रतिक्रिया