संसदीय पत्रकारिता विषयमा मधेश प्रदेशसभामा अन्तरक्रिया

धनुषा । मधेश प्रदेशसभा सचिवालयको आयोजना र नेपाल पत्रकार महासंघ धनुषा शाखाको सहकार्यमा संसदीय पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रियामा सभामुख रामचन्द्र मण्डलले पछिल्लो समय मधेश प्रदेशसभा प्रति सञ्चारकर्मीहरु माझ बढ्दो सवालहरु र प्रदेशसभामा सञ्चारकर्मीहरुको न्यून उपस्थितिलाई सहज बनाउन सुरुवात स्वरुप यो कार्यक्रमको आयोजना गरेको बताए । स्थान अभाव देखाउँदै कोरोना महामारीदेखि नै प्रदेशसभाबाट हटाइएको सञ्चारकर्मीहरुको स्थान पुनः स्थापित गर्न काम थालिसकेको समेत उनले जानकारी दिए ।

सभामुख मण्डलले सभाको अर्को बैठक बस्दा सम्म सञ्चारकर्मीहरुको सदनमा उपस्थीतिका लागि स्थान निर्माण भईसक्ने प्रतिबद्धता व्यक्त गरे ।

शुक्रबार प्रदेशसभाका सभामुख मण्डलको प्रमुख आतिथ्य, उपसभामुख बबिता कुमारी राउत ईशरको विशिष्ट आतिथ्यमा अन्तरक्रिया सम्पन्न भएको हो । अन्तरक्रियामा बोल्दै पत्रकार महासंघ धनुषाकी अध्यक्ष मनिका झाले सञ्चारकर्मीहरुका लागि संसदीय मामिलामा पत्रकारिता गर्न प्रशिक्षण कार्यक्रमको आयोजना तथा अन्तरप्रदेशिय प्रदेशसभाहरुको भ्रमणको व्यवस्थापनमा मधेश प्रदेशसभाले सहयोग गरिदिनुहुन सभामुख मण्डललाई अनुरोध गरेकी थिइन् ।

कार्यक्रममा प्रदेशसभाका नवनियुक्त सचिव मनोजकुमार गिरी लगायत सञ्चारमाध्यमा कार्यरत ४० जना भन्दा बढि सञ्चारकर्मीहरुको सहभागितामा रहेको थियो ।

प्रतिक्रिया