सर्लाही । सर्लाहीको लालबन्दीका ट्याक्टर व्यवसायीहरुले राजस्व रकम तिरेर खोलाबाट ढुंगा, बालुवा निकाल्न पाउने भएका छन् । असार, साउन र भदौमा मात्रै नदिजन्य पदार्थ उत्खनन्का लागि रोक लाग्ने भए पनि लामो समय खोला ठेक्का नलाग्दा व्यवसायीहरु मारमा परेका थिए ।
आफूहरुले खोलाबाट ढुंगा, गिट्टि र बालुवा झिक्न पाउनुपर्ने माग राखेर ट्याक्टरसहित शान्तिपूर्ण आन्दोलन गरेपछि नगरपालिकाले राजस्व रकम तिरेर गिट्टी बालुवा झिक्न दिएको व्यवसायी प्रमोद थपलियाले बताए ।
बिहीबार बिहान १७–१८ वटा ट्याक्टरसहित नगरपालिका घेराउ गर्न पुगेका व्यवसायीहरुसँग नगरप्रमुख बासुदेव अधिकारी, ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरिक्षक हरिबोल केसीलगायतका प्रतिनिधिहरुले वार्ता गरेका थिए ।
नगरपालिकाले यत्रो महिनासम्म खोला ठेक्का लगाउन नसक्ने, खोलामा ट्याक्टर भेटे प्रहरी लगाएर समात्न लगाउने र व्यवसायीहरुबाट ५ हजार जरिवाना उठाउने काम तत्काल बन्द गर्नुपर्ने भन्दै व्यवसायीहरु जंगीएका थिए । नगरपालिकाले असार, साउन र भदौ गरी ३ महिना नदिजन्य पदार्थ उत्खनन् गरे कारवाहि गर्न प्रहरीलाई गरेको पत्राचारलाई आधार मानेर अहिलेसम्म पनि आफूहरुमाथि ज्यादत्ति भईरहेको व्यवसायीहरुको भनाई थियो ।
लालबन्दी नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने खोलाहरुबाट ढुंगा, गिट्टि र बालुवा झिक्न नपाउँदा यहाँका टिपर, ट्याक्टर व्यवसायी, घर निर्माण गर्ने सर्वसाधारण, निर्माण मजदुर, हार्डवेयर ब्यवसायीसँगै आम नागरिक मारमा परेको उनीहरुको दाबी छ । ट्याक्टरमा काम गर्ने मजदुरहरु अहिले काम खोज्न भारतका विभिन्न शहर पुग्न थालेको समेत व्यवसायीले बताएका छन् ।
केही समय नगरपालिकाले बेवास्ता गरे निर्माण मदजुर पाउनै मुस्किल पर्ने उनिहरुको भनाई छ । नगरपालिकाले खोला रोक्दा क्रसरको ढुंगा, गिट्टि र बालुवा मंहगो भएको र निम्न वर्गको व्यवसाय रोकेर नगरपालिका नै कमिसनको खेलमा लागेको हो कि भन्ने शंकाको अवस्था सिर्जना भएको व्यवसायी बताउँछन् । लालबन्दी नगरपालिकाले कालिन्जोर, लखन्देहीलगायत कुनै पनि खोला ठेक्का लगाउन सकेको छैन ।
यतिबेला लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विहीन छ । संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परिक्षण कार्यविधि (आइईई) प्रदेशबाट स्वीकृत नभएकोले हालसम्म खोला ठेक्का लगाउन नसकिएको लालबन्दी नगरपालिकाका प्रशासकिय अधिकृत रेवती प्रसाद पौडेलले बताए ।
आइईई स्विकृत भएर नआउन्जेलसम्मका लागि टिपर र ट्याक्टरमा प्रति टेलर ४०० रुपैयाँका दरले कालिन्जोर खोलाको रन्जितपुर घाट र लखन्देही खोलाको हिरापुर घाट नाकाबाट ढुंगा, गिट्टी र बालुवा निकाल्न दिइने मौखिक सहमति भएको नगरप्रमुख बासुदेव अधिकारीले जानकारी दिए ।
खोलामा जेसिबी, डोजरलगायतका मेसिन भने प्रयोग गर्न नपाइने नगरप्रमुख अधिकारीको भनाई छ । ट्याक्टर व्यवसायीले नगरपालिकाको मुल गेटदेखि नै ट्याक्टर राख्दै केही बेर पालिका परिसरमा सानाठूला सवारीको आउजाउ बन्द गरेका थिए ।
सर्लाही
प्रतिक्रिया