गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानले बहुप्राविधिक शिक्षालय स्थापित गर्छ : पूर्वमन्त्री झा

मधेस । गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानले बहुप्राविधिक शिक्षालय स्थापित गर्ने पूर्वमन्त्री अनिलकुमार झाले बताएका छन् । गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठान माधवनारायण नगरपालिका– ३ द्वारा सञ्चालित टेक्निकल ईन्स्टिच्युटको अभिमूखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘प्रतिष्ठानमा उपचार र शिक्षा सँगसँगै दिने मेरो श्रीमती स्वर्गीय डा डिम्पल झाको सपना रहेको थियो ।’ उक्त सपना स्थानीयहरूको स्नेह र श्रद्धाले साकार भएको उनको भनाइ रहेको थियो । उनले यसलाई अगाडि बढाउन आफू सदैव अग्रसर रहने प्रतिबद्धता जनाए ।

प्रतिष्ठानले आज विषयगत शिक्षक र विद्यार्थीबीच परिचयात्मक कार्यक्रम गर्नुका साथै पाठ्यक्रमको सम्बन्धमा सम्बन्धित शिक्षकले विद्यार्थीहरूलाई बताएका थिए । भोलि मंसिर २२ गते शुक्रबारदेखि नियमितरूपले कक्षा सञ्चालन हुने ईन्स्टिच्युटका शिवशंकर झाले जानकारी गराए ।

जिल्लाको गौर–चन्द्रनिगाहपुर सडकमा सखुअवा र जयनगरबीच अवस्थित १५ बिघा जमिनमा अस्पतालको संरचना तयार भई उद्घाटन भइसकेको हो । तत्कालका लागि १०० बेडको बनेको छ । गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानमार्फत स्थापना गरिएको सो अस्पताललाई शिक्षण अस्पताल बनाउने लक्ष्य पनि लिएको थियो ।

रौतहट र त्यस आसपासमा सुविधा सम्पन्न उपचारको व्यवस्था भएको अस्पताल थिएन । यहाँका जनता विशेष उपचारका लागि वीरगञ्ज वा जनकपुर नै जानुपर्ने बाध्यता थियो । पूर्णरूपमा सञ्चालनमा भएपश्चात् त्यो समस्या हट्ने भएको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया