रुकुम पश्चिम । रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई बैंकमा खाता सञ्चालन गर्नसमेत सकस भएको छ । जिल्लाको आठबिसकोट नगरपालिकामा एउटै मात्र प्रभु बैंक छ । बैंकमा भिडभाड बढेपछि सेवाग्राहीलाई सेवा लिन सकस भएको हो ।
ग्रामीण भेकमा बैंकिङ कारोबार कम हुन्छ भनेर पनि बैंक तथा वित्तीय संस्था गाउँगाउँमा जान मान्दैनन् । जसको सास्ती स्थानीयले खेप्नु परेको देखिन्छ । दिनभर बैंकको पालो कुरेर खाता नखोली घर फर्कनुपर्ने बाध्यता उनीहरुमा छ ।
सधैँ जसो सामाजिक सुरक्षा भत्ता लिन आउने सेवाग्राहीले सास्ती खेप्ने गरेको आठबिसकोटको प्रभु बैंकमा अहिले चाप बढेको छ । भूकम्प प्रभावितहरु खाता सञ्चालनका लागि बिहानैदेखि बेलुकासम्म बैंक अगाडि आएर बसेका हुन्छन् ।
तर दिनभरी लाइनमा पालो कुरेर पनि काम नगरी उनीहरु घर फर्कने गरेका छन् । खाता खोल्नसमेत बैंकमा संघर्ष गर्नुपर्ने अवस्था छ । बैंकमा बढेको भीडलाई मध्यनजर गर्दै वडाहरुमा भूकम्प प्रभावितहरुका लागि खाता सञ्चालन गर्न शिविर सञ्चालन गर्नुपर्ने आवश्यकता देखिन्छ ।
पालिकामा एउटै मात्र बैंक शाखा हुँदा भूकम्प पीडितहरु मर्कामा परेका छन् । सरकारले अस्थायी आवास निर्माणका लागि दिने ५० हजारको लागि बैंकमा खाता सञ्चालन गर्नुपर्ने भएकाले अधिकांश भूकम्प पीडितहरु बैंकमा लाइन बस्दै आएका छन् । न बैंकमा टोकन प्रणाली छ । न व्यवस्थित लाइन छ । जसले गर्दा वृद्धवृद्धा र महिलाहरुलाई सास्ती बढेको सेवाग्राहीहरु बताउँछन् ।
राष्ट्र बैंकले सबै पालिका केन्द्रमा बैंक जाने वातावरणका लागि नीतिगत व्यवस्था तय गर्नुपर्ने सरोकारवाला बताउँछन् । पालिकाका केन्द्र पुगेका बैंकले गाउँका बासिन्दालाई केही राहत दिएका छन् । गाउँमै बैंक पुग्नुको अर्थ सरकारी तथा निजी कार्यालयहरूले बैंकमार्फत कारोबार गर्न पाउनु हो । तर पालिकामा एउटा मात्रै बैंक हुँदा सेवाग्राहीले समस्या खेप्नुपरेको वडा नम्बर ९ का वडाध्यक्ष जनकबहादुर बटालाले बताए ।
राडी बजारको बैंकमा भत्ता लिन आउन ज्येष्ठ नागरिकहरू जाँदा–आउँदा दुई हजार रुपैयाँ गाडी भाडा खर्चनुपर्छ । वडा नम्बर १–२ बाट झन आउजाउ गर्न २ दिन लाग्छ । जब कि राष्ट्र बैंकले ३० मिनेटको दुरीमा बैंकहरूको पहुँच पुर्याउने कुरा गर्छ । तर केन्द्रिय बैंकले भने जस्तै गर्ने हो यहाँका वडाहरुमा बैंकको पहुँच पुग्नुपर्ने हो । यातायातको पहुँच पुगेको ठाउँमा टाढाको दुरीमा बैंक भए पनि ठिकै हो । तर दुर्गममा पालिकाभर एउटै बैंक हुँदा थप समस्या भएको छ ।
बिहान १० बजेदेखि लाइनमा बसेर पनि खाता सञ्चालन गर्न नपाएको आठबिसकोट नगरपालिका– १२ का स्यानी बार्खुका ७० वर्षका ऐभान कुसारी बताउँछन् । उनी भन्छन्, ‘भूकम्पबाट घरमा क्षति भयो, अब सरकारले ५० हजार दिन्छ भनेर खाता खोल्न बैंकमा आएँ, भीडले बैंकभित्र छिर्न सकिएन ।’
हातमा खाता सञ्चालनको फारम बोकेका उनी त्यहाँको भीडभन्दा भिन्न देखिन्छन् । उमेर पाको देखिने उनी जस्तै धेरै नागरिक यति बेला बैंकको अगाडि जम्मा भएका छन् । उनीहरुले न त सहजै बैंकबाट सेवा लिन पाउँछन् । न त बैंकबाट स्पष्ट हुन्छन् । भूकम्प लाभग्राहीले बैंकमार्फत पाउने रकम निकै झन्जटिलो भएको र सास्ती हुने गरेको बताएका छन् ।
जनप्रतिनिधिहरुले स्थानीय तहमा बैंक थप्न माग गरे पनि बैंकहरु आउन नमानेको स्थानीय तहका जनप्रतिनिधिहरु बताउँछन् । सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ नागरिक, अपांग र एकल महिलालाई निकै सकस परिरहेको अवस्थामा जनप्रतिनिधिले बैंक थप्न माग गरेपनी अहिलेसम्म कुनै पनि बैंकले चासो नदेखाएको बुझिएको छ ।
पालिकामा एक मात्र बैंक हुदा जेष्ठ नागरिकका लागि वैंकिंक प्रणाली झन्झटिलो भएकाले पालिकाको भुगोल तथा जनसंख्या अनुसार बैंकहरु थप्नुपर्ने आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले बताए । बैंकमा भीड बढेपछि वृद्धवृद्धा र महिलाहरुले अरुकै सहरा लिनुपरेको गुनासो गरेका छन् ।
देशैभरका सबै पालिकाहरुमा बैंकिङ सेवा पुर्याउने सरकारको नीति छ । मुलुकभरका पालिकामा बैंकिङ सेवा पुगे पनि प्रयाप्त संख्यामा बैंक नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ ।
दुर्गम हुनु र सुरक्षा अभावका कारण अधिकांश बैंकहरू सबै पालिकामा पुग्न सकेका छैनन् । रुकुम पश्चिमका ६ वटै पालिकाहरुमा केही बैँकहरु त पुगेका छन्। तर सेवाग्राही धेरै हुँदा बैँकमा भिडभाड बढ्ने र समयमै काम गर्न सकस परेको स्थानीय बताउँछन् ।
रुकुम पश्चिम
प्रतिक्रिया