वीरगन्ज , २४ माघ । वीरगन्जमा मंगलबारदेखि दोस्रो राष्ट्रिय हकी प्रतियोगिता सुरु भएको छ । स्थानीय आदर्शनगर रंगशालामा मंगलबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले प्रतियोगिताको उद्घाटन गरे । पर्सा जिल्ला हक्की संघले आयोजना गरेको राष्ट्रिय हक्की प्रतियोगिता २७ माघसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा पाँच विकास क्षेत्र र नेपाल आर्मी गरि कुल ६ ओटा टिमले सहभागिता जनाएका छन् । यसमा पहिलो हुने टिमले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने टिमले २० हजार रुपियाँ नगद पुरस्कार पाउनेछ । उत्कृष्ट प्रशिक्षकलाई नगद १५ हजार र उत्कृष्ट खेलाडीलाइ पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने पर्सा जिल्ला हक्की संघका सचिव राजेन्द्र पाठकले जानकारी दिएका छन् ।
नेपाल आर्मीले प्रतियोगितामा विजयी शुरुआत गरेको छ । आदर्शनगर रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा आर्मीले राष्ट्रिय च्याम्पियन सुदूरपश्चिमलाई
३–० ले पराजित गर्यो । नेपाल आर्मीका लागि राम शाहले दुई र दीपक ऐरले एक गोल गरे । मंगलबार नै भएको अर्को खेलमा मध्यमाञ्चल विजयी भएको छ । मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ७–० ले पराजित गरेको छ । मध्यमाञ्चलका लागि राजेशनाथ अधिकारीले तीन तथा अमित श्रीवास्तव र सोम मगरले समान दुई–दुई गोल गरेका हुन् । प्रतियोगितामा बुधबार पनि दुई ओटा खेल हुनेछ । मंगलबार पहिलो खेल मध्यमाञ्चल र पश्चिमाञ्चल तथा दोस्रो खेल नेपाल आर्मी र पूर्वाञ्चलबीच हुनेछ ।
प्रतिक्रिया